सुदूरपश्चिममा वर्षेनी डेङ्गु सङ्क्रमण बढ्दै

डडेल्धुरा–सुदूरपश्चिममा वर्षेनी डेङ्गु संक्रमण बढ्दै गएको छ । प्रदेशमा तीन वर्षको तथ्याङक हेर्दा वर्षेनी डेङ्गु संक्रमण बढ्दै जान थालेको पाइएको हो।

स्वास्थ्य निर्देशनालय दिपायलका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को माघ महिनादेखि असार दोस्रो सातासम्म प्रदेशमा एक सय ६७ जनामा डेङ्गु संक्रमित फेला परेका छन् भने गत आर्थिक वर्ष २०८०÷०८१ मा एक हजार चार सय ४४ जनामा डेङ्गु संक्रमण देखिएको थियो। उनले आर्थिक वर्ष २०७९/०८० मा एक हजार एक सय ९४ जनामा डेङ्गु संक्रमित फेला परेकोमा चार जनाको मृत्यु समेत भएको बताए। चालु आर्थिक वर्ष २०८१/०८२ को छ महिनामा सबैभन्दा बढी डेङ्गु संक्रमित डडेल्धुरामा फेला परेका छन भने संक्रमित नै फेला नपरेको जिल्ला बैतडी रहेको छ।

डडेल्धुरामा ३४ जनालाई डेङ्गु संक्रमण भएको छ, भने बैतडीमा हालसम्म शून्य संख्यामा संक्रमण रहेको छ। कैलालीमा ३१ जना, कञ्चनपुरमा २९ जना, डोटीमा २५ जना, अछाममा २४ जना, बझाङ र बाजुरामा ११÷११ जनामा र दार्चुलामा दुई जनामा डेङ्गु संक्रमण फेला परेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत जोशीले शहरीकरण, निर्माणको काम लगायत शहर उन्मुख बसोवास बढ्दै गएकाले लामखुट्टेको उत्पादन बढि भएकाले गर्दा पनि संक्रमणहरु बढ्दै गएको बताए।
डेङ्गु नियन्त्रणका लागि आफूहरुले लामखुट्टेको लार्भा भएका ठाउँको पहिचान गरी खोज्ने र नष्ट गर्ने अभियान र जनचेतनामुलक कामहरु गरिरहेको स्वास्स्थ्यकर्मीहरु बताउछन्। स्थानीय तहहरुलाई डेङ्गु सङ्क्रमण रोक्थामका लागि विभिन्न क्षमता विकास तालिमहरु पनि दिँदै आइरहेको उनले बताए । उनले अस्पतालमाहरुमा किट र औषधि व्यवस्थापन, चिकित्सकसहित स्वास्थ्यकर्मीको क्षमता विकास गर्नुका साथै उपचारमा आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराउने कामहरु गरिरहेको बताए । यस वर्ष अलि बढी वर्षा हुने भएकाले संक्रमितको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको उनको भनाइ छ।

स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्सन मीनबहादुर धामीले डेङ्गु संक्रमण देखिएको क्षेत्रहरुमा लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेको बताए। सार्वजनिक स्थलहरुमा डेङ्गु सम्बन्धी जनचेतना मुलक प्रचार–प्रसारका बोर्डहरु लगाउनुका साथै स्वास्थ्य संस्थाहरुबाट सरसफाई कार्यलाई निरन्तरता दिइरहेको उनले बताए। सूचना तथा सञ्चारमाध्यमहरुबाट डेङ्गु सम्बन्धी जनचेतनामुलक सन्देशहरु पनि प्रसारण गर्न गरेको उनको भनाइ छ।

एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसलाई डेङ्गु लाग्ने गर्दछ । डेङ्गु सार्ने लामखुट्टेले घाम उदाएको दुई घण्टापछाडि र घाम अस्ताउनु भन्दा दुई घण्टा अगाडिको समय घाम लागेको बेला बढी टोक्ने गरेको प्रादेशिक स्वास्थ्य निर्देशनालय जनाइएको छ । यो रोग लागेमा एक्कासि उच्च ज्वरो आउने, मांसपेशी, टाउको दुख्ने, बान्ता हुने, थकान लाग्ने जस्ता लक्षण देखा पर्ने गर्दछ । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न आवश्यक रहेको जनाइएको छ । झुल लगाएर मात्रै सुत्ने, घर वरिपरि सरसफाइ गर्ने, भाँडाकुँडामा लामो समयसम्म पानी जम्न नदिने जस्ता कार्य गर्न आवश्यक छ।

You might also like