महेन्द्रनगर–सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पस महेन्द्रनगरको आयोजनामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
विश्वविद्यालयको केन्द्रीय क्याम्पस तथा भारतीय संस्था एक्सपोरा रिसर्च एसोसिएसन, झारखण्डको सहकार्यमा असार १३ र १४ गते दुई दिने सम्मेलन हुन लागेको हो। विश्वविद्यालय, केन्द्रीय क्याम्पसको आयोजनामा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय कार्यक्रमको बारेमा मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ।‘गुणस्तरीय शिक्षा र दिगो विकासमा उदयमान अनुसन्धान प्रवृत्ति र नवपवर्तनहरूको बहुविधागत अनुसन्धान’ शीर्षक सम्मेलन केन्द्रित हुनेछ।
नेपाल, भारत, अमेरिका, बेलायत र डेनमार्क लगायतका देशहरूबाट दुई सय ५० जना शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ता सहभागी हुनेछन्। सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको सुदूरपश्चिम विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्मेनलन कन्वेनर तथा डा. मदन सिंह देउवाले बताए। अनुसन्धान, नवप्रवर्तन र अन्तरदेशीय ज्ञान आदानप्रदानलाई प्रोत्साहित गर्ने उद्देश्यले यस्तो सम्मेलन आयोजना गरिएको उनले बताए।
कार्यक्रममा विज्ञान तथा प्रविधि, मानविकी, व्यवस्थापन लगायतका संकायहरूमार्फत विभिन्न अनुसन्धानपत्रहरू प्रस्तुत गरिने छन्। सम्मेलनले गुणस्तरीय शिक्षा र अनुसन्धान प्रवद्र्धनमा सुदूरपश्चिम विश्वविद्यालयको भूमिका थप सशक्त बनाउने विश्वास गरिएको छ। सम्मेलनमार्फत शिक्षालयबीच अन्तर्राष्ट्रिय सहकार्यका नयाँ आयाम खुल्ने र सुदूरपश्चिम क्षेत्रकै शैक्षिक पहिचान स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।