देशभर फैलियो मनसुन प्रणाली

काठमाडौं- यस वर्षको मनसुन प्रणाली शुक्रबारदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको हो।

यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भूभागमा विस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म विस्तार भएको थियो । महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा शुक्रबारदेखि मनसुन फैलिएसँगै अब देशभर मनसुन सक्रिय रहने छ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव छ। साथै देशका पश्चिम भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ भने भारतको पश्चिम बङ्गाल आसपासका क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव छ।

You might also like