तर्कराज भट्ट
डडेल्धुरा-सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले शिक्षालाई प्रविधिमैत्री बनाउन संघ, प्रदेश र स्थानीय तहका सरकार एकजुट भएर काम गर्नुपर्ने बताएकी छन्।
बिहीबार डडेल्धुराको अमरगढी नगरपालिका–२ मा अवस्थित बैजनाथ माध्यमिक विद्यालयमा आयोजित ‘प्रदेश स्तरीय विज्ञान–गणित शैक्षिक प्रदर्शनी’ उदघाटन गर्दै उनले प्रविधिको युगसँग कदम मिलाएर हिँड्न शिक्षामा प्रविधिको प्रयोग अत्यावश्यक भएको बताइन्। उनले यसका लागि तीनै तहको नीतिगत प्राथमिकता हुन जरुरी रहेको बताइन्। उनले सरकारी विद्यालयहरूले सीमित स्रोतसाधनमा पनि यस्ता प्रदर्शनी आयोजना गर्नु प्रेरणादायी भएको भन्दै विद्यार्थीको प्रस्तुति देखेर आफू अचम्मित भएको बताइन्। ‘विज्ञान र प्रविधिमा सोच बनाइरहेका बालबालिकाको पहिचान गरी सरकारले प्रोत्साहन गर्नुपर्छ,’ उनले भनिन्, ‘सुदूरपश्चिममै आविष्कार केन्द्र स्थापना गर्नु अबको आवश्यकता हो।’
राज्यमन्त्री खड्काले शिक्षा र स्वास्थ्यलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको भन्दै सुदूरपश्चिमका सबै जिल्लामा पूर्वाधार र गुणस्तर सुधारका कार्यक्रम अघि बढाइएको बताइन् । साथै, उनले वितरणमुखी बजेट प्रणाली विद्यार्थीको आवश्यकता र मनोभावनाअनुसार पुनःसंरचना गर्नुपर्ने आवश्यकतामा पनि जोड दिइन्। शिक्षा विकास निर्देशनालय डोटीको आयोजनामा र बैजनाथ मावि मौरडाको व्यवस्थापनमा सम्पन्न सो प्रदर्शनीमा सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका ६ विद्यालय सहभागी थिए । डडेल्धुराको बैजनाथ मावि मौरडा, बाजुराको भानोदय मावि नौविस, दार्चुलाको मालिकार्जुन मावि धाप, कैलालीको सत्यवती एकेडेमी र कञ्चनपुरको महेन्द्रनगर मावि तथा लक्ष्मी माविले प्रदर्शनीमा भाग लिएका थिए।
विद्यार्थीहरूले विज्ञान र गणितलाई दैनिक जीवनसँग जोडेर बनाएका मोडेल र प्रयोगशाला प्रस्तुति प्रदर्शनीमा प्रस्तुत गरेका थिए। विभिन्न वैज्ञानिक प्रविधि, डिजिटल गणनाको सरल विधि, ऊर्जा संरक्षण, पर्यावरणीय चेतना, मापन विधिहरू, स्थानीय स्रोतको उपयोग र गणितीय सूत्रको व्यावहारिक प्रयोगलगायतका विषयमा विद्यार्थीले आफ्ना आविष्कारात्मक प्रदर्शन गरेका थिए। कार्यक्रममा शिक्षा विकास निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले यस्ता प्रदर्शनीले विद्यार्थीको आत्मविश्वास बढाउनुका साथै नवप्रतिभा उजागर गर्ने बताए। ‘शिक्षालाई केवल किताबी ज्ञानमै सीमित राख्नु भएन,’ उनले भने, ‘प्रयोगात्मक बनाउने दिशामा यस्तै प्रयासले सघाउ पुर्याउँछन्।’
बैजनाथ माविका प्रधानाध्यापक मोहनसिंह धामीले विद्यार्थीको प्रतिभा, सोच र अनुसन्धान क्षमताको विकासका लागि यस्ता प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले शिक्षालाई जीवित बनाउने यस्ता कार्यक्रमले विद्यार्थीलाई व्यावहारिक ज्ञान र जीवनोपयोगी सीप सिकाउने धारणा पनि व्यक्त गरे। उत्कृष्ट प्रदर्शनी गर्ने विद्यालय र विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरिएको थियो । विज्ञान प्रदर्शनीतर्फ डडेल्धुराको बैजनाथ मावि प्रथम, कञ्चनपुरको महेन्द्रनगर मावि द्वितीय र कैलालीको सत्यवती एकेडेमी तृतीय भएका थिए । गणित प्रदर्शनीतर्फ कञ्चनपुरको लक्ष्मी मावि प्रथम, डडेल्धुराको बैजनाथ मावि द्वितीय र सत्यवती एकेडेमी तृतीय भएका छन्।