जनताको खाँचोका सेवामा संवेदनशील हुन परराष्ट्रमन्त्रीको आग्रह

धनगढी–परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले जनताका आवश्यकता र प्रत्यक्ष खाँचोसँग जेडिएका सेवा प्रदान गर्ने काममा राष्ट्रसेवकहरु संवेदनशील बन्नुपर्ने बताएकी छन्।

राहादानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहादानी सेवामा कार्यरत कर्मचारीहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई शनिबार धनगढीमा सम्बोधन गर्दै उनले सो धारणा राखेकी हुन्। उनले भनेकी छन् ‘राहादानी अब नागरिकको कुनै विलासिताको वस्तु नभएर प्रत्येक नागरिकको आधारभूत अधिकार भएको छ। त्यसैले यो सेवा दिने कार्यालयको ‘फ्रन्ट डेस्क’ मा बस्ने यहाँहरु सबैभन्दा जिम्मेवार व्यक्ति हुनुहुन्छ। सेवाको आवश्यकता र जनताका खाँचोलाई हेरेर गम्भीर भइ दिनुहोला।’

उनले यस्तो संवेदनशील सेवा दिने ठाउँमा बसेका कर्मचारीहरुले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र के कसरी उनीहरुलाई छिटोछरितो र सहज सेवा दिन सकिन्छ भनेर सोच्नुपर्ने सुझाव दिइन्। अझ सुदूरपश्चिम तथा यस्तै दुर्गम जिल्लामा दिइने सेवालाई त झन कसरी सहज र नागरिकको पहुँचयोग्य बनाउने भन्ने बारेमा सरकार प्रयत्नशील रहेको मन्त्री डा. राणाले बताइन्।

मन्त्री डा राणाले राहादानीसम्बन्धी वर्तमान सेवालाई दुर्गम जिल्लाहरुका नागरिकलाई अझ सहज र पहुँचयोग्य कसरी बनाउने भनेर सरकारलाई सुझाव दिन आग्रह गरिन्। उनले भनिन्, ‘पासपोर्टमा जनतालाई परेका समस्या र त्यसमा गर्न सकिने सुधारका लागि यहाँहरुले सरकारलाई सुझाव दिन सक्नुहुनेछ। त्यसमा सरकारले समयानुकूल सुधार गर्दै लैजानेछ।’

You might also like