सुदूरपश्चिमका यातायात व्यवसायी आन्दोलित, लामो दूरीको यातायात सेवा ठप्प

डडेल्धुरा–सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीहरू आन्दोलित भएका छन । व्यवसायीहरुको आन्दोलनका कारण आईतबारदेखि प्रदेशभर लामो दुरीको यातायात सेवा ठप्प भएको छ।
गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरूले आइतबारदेखि लामो दूरीका सवारीसाधन ठप्प पारेका हुन । यातायात व्यवसायीहरूले सोमवारदेखि सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प पार्ने घोषणा गरेका छन। गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारी साधनले यात्रु ओसारपसार गर्न पाउने गरी ऐन ल्याएपछि त्यसको विरोधमा देशभरका यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन।
नेपाल यातायात व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका संयोजक टेकराज जोशीले यातायात व्यवसायीहरूले हातमा कालो पट्टी बाँधेर सवारीसाधनमा कालो झण्डा लगाउँदै बिरोध जनाइरहेको बताए। उनले निजि सवारी साधनले सार्वजनिक सवारी साधन सरह सञ्चालन गर्न पाउने व्यवस्थाको विरोध गरेको बताउँदै सार्वजनिक सवारी साधन सञ्चालनको विधि बारेमा सुदूरपश्चिम प्रदेश सरकारको ठोस नीति सार्वजनिक हुनुपर्ने बताए। गण्डकी प्रदेश सरकारले ल्याएको ऐन खारेज गर्नुपर्ने तथा विगतमा यातायात व्यवसायीसँग सरकारले गरेका सहमति, सम्झौताहरू कार्यान्वयन हुनुपर्ने माग यातायात व्यवसायीहरूको छ ।  माग पूरा नभए सार्वजनिक यातायात पूर्णरूपमा ठप्प पार्ने यातायात व्यवसायीहरूले घोषणा गरेका छन । राज्यलाई लाखौँ रुपैयाँ कर तिरेर सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई राज्यले धराशायी बनाउन खोजेको आरोप उनीहरूको छ।

डडेल्धुराका यातायात व्यवसायीहरु पनि आन्दोलनमा होमिएका छन। गण्डकी प्रदेश सरकारले ल्याएको ऐनको विरोधमा उत्रिएका व्यवसायीहरुले आइतबार डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेमार्फत सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाएका छन । उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रालिको अगुवाइमा ज्ञापनपत्र बुझाइएको हो।

You might also like