यौनिक अल्पसङ्ख्यक समुदायका सवाल बारेमा छलफल

धनगढी–यौनिक अल्पङ्ख्यक समुदायको सवालमा मिडियाको भूमिका सम्बन्धि छलफल कार्यक्रम बिहीबार धनगढीमा सम्पन्न भएको छ।

यौनिक अल्पसङ्ख्यक समुदायको सवालमा पैरवी गर्दैआएको एकता नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा सो समुदायका व्यक्तिले संविधानप्रदत्त अधिकार उपभोग गर्न पनि थुप्रै समस्याको सामना गर्नु परिरहेको भन्दै आफ्नो सवाल उठाइ दिन सञ्चार माध्यमलाई आग्रह गरेका छन्।

पुरुष पारलैङ्गिक राज चौधरीले यौनिक अल्पसङ्ख्यक समुदायले थुप्रै चुनौती भोगिरहेको बताए। यौनिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्ति पैतृक सम्पत्तिबाट पनि बञ्चित भइरहेको उनको भनाइ छ। त्यस्तै, चर्पी प्रयोगमा पनि विभिन्न समस्या उत्पन्न भइरहेकाले शौंचालयहरूमा महिला, पुरुष शौचालय लेख्नुभन्दा पनि लैङ्गिकमैत्री शौंचालय लेख्नु पर्ने सो समुदायको जोड छ।
आफैँलाई बुझ्न नसक्नू र समाजको व्यवहारका कारण यौनिक अल्पसङ्ख्यक समुदायको व्यक्तिमा मानसिक समस्या बढ्दो रहेको जनाइएको छ ।

नेपालको संविधानको धारा १२ मा यौनिक अल्पङ्ख्यक समुदायको नागरिकता र धारा १८ मा समानताको हकको व्यवस्था गरिएको छ। तर, नागरिकता बनाउन जाँदा शरीर नङ्ग्याउनेजस्तो व्यवहार हुने गरेको चौधरीले गुनासो गरे। त्यसैगरी, यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिमाथि परिवार र समाजको असमान व्यवहार अझै पनि कायम रहेको बताइएको छ। एकता नेपालका अध्यक्ष कृत्तिका चौधरीले यौनिक अल्पसङ्ख्यक समुदायको व्यक्तिलाई स्थानीय र प्रदेश सरकारले लक्षित वर्गको कार्यक्रममा समेट्न आवश्यक रहेको बताइन्।

You might also like