चुरे क्षेत्रको क्षयीकरण रोक्न जैविक तटबन्ध निर्माण

महेन्द्रनगर–चुरे क्षेत्रको भूमि क्षयीकरण रोक्नका लागि कञ्चनपुरका विभिन्न नदी, खोलानालामा जैविक र तारजालीका तटबन्ध निर्माण गरिएको छ। जिल्लाको भीमदत्त र बेदकोट नगरका विभिन्न खोला नदीनालाहरूमा जैविकदेखि तारजालीका तटबन्ध निर्माण गरिएका हुन्।

स्थानीय सरकार, समुदाय र चुरे संरक्षण सञ्जाल नेपालको संयुक्त लगानीमा तटबन्ध निर्माण गरिएको जनाएको छ। चुरे संरक्षण सञ्जाल नेपालका व्यवस्थापक करन भट्टले जोखिमयुक्त नदीखोला नालाहरूमा तटबन्ध निर्माण गरिएको बताए। उनका अनुसार बेदकोट नगरपालिका–१, रडाहको राधा नदी, बेदकोट–६, मुसेपानीको निकास नाला र भीमदत्त नगरपालिका–७, केराबारी शिवटोल खन्यखोलाको भंगालो नालामा तटबन्ध निर्माण गरिएको छ।

राधा नदीमा ७२ मिटर जैविकसहित ढुंगाको तारजाली निर्माण गरिएको छ । निकास नालामा ४२ मिटर र खन्यखोलामा ३१ मिटर तटबन्ध निर्माण गरिएको छ। राधा नदी तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर विष्टले नदीको उत्तरतर्फ निकुञ्ज र दक्षिणतर्फ बस्ती भएकाले तटबन्ध आवश्यक रहेको बताए। चुरे संरक्षण सञ्जाल नेपालका अध्यक्ष रवीन्द्र कुँवरले चुरे भएर बग्ने नदीखोला नालाको चुरे तटीय क्षेत्रमा निम्तिने जोखिम न्यूनीकरणका लागि तटबन्धका कार्यक्रम सञ्चालन गरिएको बताए। अध्यक्ष कुँवरले पश्चिम तराई भूपरिधि कार्यक्रममार्फत भूक्षयीकरण रोक्ने कार्यक्रम सञ्चालन भएको बताए।

You might also like