भारतले कालापानी हुँदै कैलाश मानसरोवर यात्रा गराउने

डडेल्धुरा– छिमेकी मुलुक भारतले अतिक्रमण गरेको नेपाली भूमी लिपुलेक, कालापानी र गुन्जी क्षेत्र हुँदै चीनको तिब्बतस्थित कैलाश मानसरोवरसम्म तीर्थयात्री पठाउने तयारी गरेको छ।

भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको नयाँ पोर्टलमा नेपाली भूमि हुँदै चीनसम्म पुग्ने मार्ग स्पष्ट रूपमा उल्लेख गरिएको छ। कैलाश मानसरोवर यात्रा २०२५ का लागि ७५० भारतीय तीर्थालुहरूलाई कम्प्युटरमार्फत छनोट गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। करिब ५,५६१ जनाले आवेदन दिएकोमा १५ टोली बनाई, प्रति टोली ५० जनाको दरले जुनदेखि अगस्ट महिनासम्म यात्रा गराउने तयारी गरिएको छ।

प्रत्येक तीर्थालुलाई भारत सरकारले यात्रा शुल्कका रूपमा १ लाख ७४ हजार भारतीय रुपैयाँ तोकेको छ। २२ दिन लामो यात्रामा पाँच टोलीलाई उत्तराखण्डको लिपुलेक हुँदै र बाँकी १० टोलीलाई सिक्किमको नाथुला रुटबाट चीनको तिब्बततर्फ लगिने छ। यात्रा अधिकतर मोटरबाट गराइने भए पनि केही दूरी हिँड्नुपर्ने बताइएको छ। भारतीय विदेश मन्त्रालयको पोर्टलमा सार्वजनिक गरिएका रुटहरूमा गुन्जी, कालापानी, लिपुलेक र ताक्लाकोटजस्ता भूभाग उल्लेख गरिएको छ, जुन क्षेत्र नेपालले पाँच वर्षअघि सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा आफ्नो भूमि भएको दाबी गरेको थियो।

यद्यपि, भारतको यस्तो कदममा नेपाल सरकारले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। चीन पनि यस विषयमा मौन देखिएको छ। लिपुलेक क्षेत्र नेपाल, भारत र चीनको त्रिदेशीय सीमा भएको भन्दै अति संवेदनशील मानिन्छ।

You might also like