यान्त्रिकरणले सहज बन्दै कृषि

कृषि यन्त्र उपकरण मर्मत सम्भार तालिम सम्पन्न

डडेल्धुरा–आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण गरेर कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न जरुरी रहेको कृषि क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुले औंल्याएका छन्।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई डडेल्धुराद्वारा आयोजित तीन दिने कृषियन्त्र उपकरण मर्मत सम्भार तालिमको समापनका अवशरमा जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिँह भण्डारीले लागत र प्रतिफलको हिसाब गर्नुपर्दा कृषिमा यान्त्रिकरणको विशिष्ट योगदान रहेको दाबी गरे ।

कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले कृषि यान्त्रिकरण प्रवद्र्धन नीति, २०७१ कार्यान्वयनपछि मात्रै मुलुकमा कृषियन्त्र उपकरणहरु उपयोग गर्न थालिएको बताउँदै एक दशकको अवधिमा यान्त्रिकरणले कृषि क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताए। उनले निर्वाहमुखी अबस्थाबाट बिस्तारै व्यवसायीक बन्न थालेको कृषि क्षेत्रको समग्र विकासका लागि निजी क्षेत्रबाट लगानी बढ्दै जाने विश्वास ब्यक्त गरे। डडेल्धुरामा कृषि व्यवसायका अपार सम्भावनाहरु रहेको जिकिरगर्दै कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख पनेरुले सम्भावनाहरुलाई अवशरमा बदल्ने चुनौति भने कायमै रहेको बताए।

नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले यान्त्रिकरणले कृषि क्षेत्रलाई निकै सहज बनाएको जिकिरगर्दै कृषि क्षेत्रमा युवा सहभागिता बढाउन सकिए मात्रै विद्यमान बेरोजगारी समस्या हल हुने र मुलुक आर्थिक रुपमा आत्मनिर्भर बन्नसक्ने सम्भावना रहेको बताए। कृषि क्षेत्रको विकास बिना ग्रामीण अर्थतन्त्र सबल बन्न नसक्ने बताउँदै अध्यक्ष सिंहले सबै मिलेर कृषि क्षेत्रको विकासमा अग्रसर हुने बेला आईसकेको जिकिर गरे।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई डडेल्धुराका प्रमुख पिताम्बर बस्नेतले यान्त्रिकरणसँगै प्राङ्गारिक कृषि प्रवद्र्धन गरेर माटो, पर्यावरण र मानव स्वास्थ्य जोगाउन आबश्यक रहेको बताए। उनले वन क्षेत्र व्यापक रहेको डडेल्धुरामा व्यवसायीक पशुपालन गरेर माटोको उर्बराशक्ति बढाउन कमपोष्ट मल, गड्यौला मल र झोलमोलको उपयोग गर्न जरुरी रहेको दाबी गरे। प्राङ्गारिक कृषि उत्पादनमा जोड दिन सकिएमा कृषि उपजको बजारीकरण पनि सहज हुने बस्नेतको भनाई छ।

शुक्रबारदेखि सञ्चालित तीन दिने तालिमको आईतबार समापन गरिएको हो । तालिममा सहभागी युवा किसानहरुले समुदायमा कृषियन्त्र तथा उपकरणको मर्मत सम्भार सेवा प्रवाह गर्ने प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई डडेल्धुराका कृषि अधिकृत भिष्मराज रेग्मीले जानकारी दिए। डोटीका पाँच र डडेल्धुराका १० जना युवा किसानहरु तालिममा सहभागी थिए । सहभागीहरुलाई मर्मत सम्भार सामाग्री हस्तान्त्रण गरिएको छ।

 

You might also like