अमरगढी नगरपालिकालाई डडेल्धुरा जिल्लास्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

डडेल्धुरा–डडेल्धुरा जिल्ला स्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि अमरगढी नगरपालिकाले जितेको छ।

अमरगढी–४ टुँडिखेलमा शनिबार सम्पन्न प्रतियोगितामा १९ स्वर्ण, १६ रजत र १२ कास्यसहित अमरगढी नगरपालिकाले शिल्ड जितेको हो। प्रतियोगितामा परशुराम नगरपालिका द्वितीय र आलिताल गाउँपालिकाले तृतीय स्थान हासिल गरेको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ। परशुरामले १९ स्वर्ण, नौ रजत र १० कास्य प्राप्त गरेको छ। स्वर्ण संख्या बराबर भए पनि रजत बढी प्राप्त गर्दै अमरगढीले शिल्ड उचालेको हो।

छात्र भलिबलको फाइनलमा पुगेको परशुरामको टिममा फर्जी खेलाडी पाइएपछि आयोजक जिल्ला खेलकुद समितिले परशुरामको छात्र भलिबल टिमलाई अयोग्य ठहर गरेको थियो। परशुराम नगरपालिकाले टीममा फर्जी खेलाडी पठाएकै कारण पराजित हुनुपरेको खेलाडीहरु बताउछन। तृतीय स्थान हासिल गरेको आलितालले आठ स्वर्ण, नौ रजत र १० कास्य जितेको आयोजक जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख डम्मरबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार अजयमेरु गाउँपालिकाले पाँच स्वर्ण, १४ रजत र १२ कास्य पदक जितेको छ।

यस्तै, गन्यापधुरा गाउँपालिकाले दुई स्वर्ण, दुई रजत र सात कास्य र नवदुर्गा गाउँपालिकाले एक स्वर्ण, एक रजत र सात कास्य पदक हात पारेका छन्। प्रतियोगितामा भागेश्वर गाउँपालिकाले भने एउटा पनि स्वर्ण पदक जित्न सकेन । भागेश्वरले एक रजत र तीन कास्य पदक जितेको छ । प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगितामा छात्र–छात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगायतका खेल खेलाइएको थियो । प्रतियोगितामा जिल्लाका सातवटै स्थानीय तहको सहभागिता रहेको थियो। जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने छन्।

You might also like