डडेलधुरा—नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले देशभरिका सरकारी निकायहरु रकम असुली गर्ने अड्डामा रुपान्तरण भइरहेको जिकिर गरेका छन ।
शनिबार डडेल्धुरामा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भुसालले देशमा कुशासन र बेरोजगारी चरम अवस्थामा पुगेको बताए। गृह प्रशासनमा देखिएको भिजिट भिसा प्रकरण एउटा उदाहरण मात्र भएको भन्दै उनले भने, ‘जनताको सेवा गर्ने भनिएको सरकारी कार्यालय आज असुलीका अड्डामा रूपान्तरण भएका छन्।’
भुसालले सत्तासीन दलहरू एकअर्कामाथि आरोप–प्रत्यारोपमै सीमित भएको भन्दै सरकारको कार्यसम्पादनमाथि कडा आलोचना गरे । केपी शर्मा ओली एमालेको नेतृत्वमा रहँदासम्म एमालेसँग पार्टी एकता हुनै नसक्ने उनले बताए । एमालेको ओलीकरण भइसकेको बताउँदै एमालेको नेतृत्वमा ओली रहेसम्म एमालेसँग पार्टी एकता गर्नुको कुनै अर्थ नहुने महासचिव भुसालले दाबी गरे । आफ्नो पार्टीले तत्काल नेकपा (माओवादी केन्द्र)सँग पनि पार्टी एकता नगर्ने उनले प्रस्ट पारे ।