धनगढी–कैलालीको गेटा अस्पतालमा उपकरण खरिदमा भएको भ्रष्टाचारको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले छानबिन तथा अनुसन्धान गरिरहेका छन्।
राष्ट्रिय सतर्कता केन्द्रले जेठ १ गते गेटा अस्पताललाई पत्र काटेर चैतको ३१ गतेदेखि वैशाखसम्म उपकरण खरिदका लागि प्रकाशित १७ वटा बोलपत्रका सबै कागजात बुझाउन निर्देशन दिएको छ। राष्ट्रिय सतर्कता केन्द्रले गेटा अस्पताललाई १५ दिनभित्र १७ वटै बोलपत्रमार्फत खरिद गरिएको उपकरणहरूको सूची, बजेटको स्थिति, स्पेसिफिकेसन स्वीकृतिको निर्णयसहितका काजगात बुझाउन निर्देशन दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उपकरण खरिदमा भएको अनियमितताको छानबिन सुरु गरेको जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले गेटा अस्पतालको उपकरण खरिदका बारेमा अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको जनाएको छ। अख्तियारका कञ्चनपुर कार्यालय प्रमुख वेदप्रसाद भण्डारीले आमसञ्चार माध्यममा प्रकाशित समाचारका आधारमा अख्तियारले उजुरी सरह छानबिन गरिरहेको बताए । कैलालीको गेटामा हाल ५० शय्याको अस्थायी अस्पताल सञ्चालनमा छ । एक सय ४१ जनाको अस्थायी दरबन्दी रहेको उक्त अस्पताल २०८० सालको कात्तिकदेखि सञ्चालनमा आएको हो। अस्पतालमा यसपालि झन्डै २८ करोडका उपकरण खरिदका लागि १७ वटा बोलपत्र प्रकाशित भएका छन्।
वीर अस्पताल काठमाडौंंबाट चैत १४ गते गेटा अस्पताल सरुवा भएर आएका निर्देशक डा. प्रमोदकुमार यादवले चैतको २७ गते यता एक साताको अवधिमा २८ करोडका १७ वटा उपकरण खरिदका बोलपत्र प्रकाशित गरेका थिए। उनले अधिकांश बोलपत्र, खरिद ऐन र भ्रष्टाचार निवारण ऐनविपरीत प्रकाशित गरेपछि अनियमितता गरिएको कुरा बाहिर आएको हो। बोलपत्र नम्बर जीएच÷जी÷एनसीबी–१० मा मेडिकल ग्यास पाइपलाइन सिस्टमको माग गरिएको थियो तर त्यसमा जीसीई मेडिकल कम्पनीको एमसी–८० डुब्लेक्स मोडेल नै तोकेर माग गरिएको थियो । खरिद ऐनअनुसार बोलपत्रमा कम्पनीको नाम र मोडेल नम्बर दिन पाइँदैन ।
यस्तै स्त्री तथा प्रसुति रोग अप्रेसन कक्षका लागि उपकरण खरिदको टेन्डरमा पाठेघरको क्यान्सर जाँच गर्ने मेसिनको स्पेसिफिकेसनमा न्यू–मार्स कम्पनीको लु–मोडेलसँग मिल्ने गरी बुँदाहरू राखिएका थिए। उपकरणको स्पेसिफिकेसन बनाउँदा कम्पनीको क्याटलकमै भएका कुराहरू लेखी दिएपछि एउटा मात्र सप्लायर्सलाई बोलपत्र पर्ने र त्यसबाट कमिसन माग्ने प्रपञ्च भएको प्राविधिकहरू बताउँछन्। एउटा मात्रै सप्लायर्सलाई लक्षित गरी प्याकेजमा खोलिएका टेन्डरमा सल्यक्रिया कक्षका लागि आवश्यक उपकरणमा अन्तरंगको सामान राखिदिएका छन् । अधिकांश उपकरणमा कम्पनीको मोडेलसमेत उल्लेख गरेर स्पेसिफिकेसन तयार पारेपछि झन् मिलेमतोको आशंका गरिएको हो ।
निर्देशक यादवले अस्पतालको सुरुवात भएकै बेलादेखि कार्यरत बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौतको ठाउँमा संघीय सरकार मातहतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली काठमाडौंका बायोमेडिकल इन्जिनियर अमृतप्रसाद भण्डारीलाई स्पेसिफिकेसन तयार पार्न लगाएका थिए। सरुवा हुनेबित्तिकै १७ टेन्डर प्रकाशित गर्नु र त्यसमा पनि स्पेसिफिकेसनका लागि काठमाडौंबाट बायोमेडिकल इन्जिनियर ल्याउनुले पनि उनको उपकरण खरिदमा स्वार्थ रहेको प्रस्ट हुन्छ। निर्देशक यादवले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका बायोमेडिकल इन्जिनियर भण्डारीलाई काजमा गेटा ल्याएर स्पेसिफिकेसन बनाउन लगाएका हुन्।