डडेल्धुरा–डोटीको पूर्वीचौकी गाउँपालिका–२ वाडीमा चट्याङ लागेर सोही ठाउँ बस्ने ४० वर्षीया देउमती साउँदको मृत्यु भएको छ।
आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा सोमबार साढे ५ बजेतिर चट्याङ खस्दा गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए। चट्याङ लागेर सोही ठाउँको बगलेक स्वास्थ्य चौकीमा कार्यरत अनमी ३६ वर्षीया अस्मिता ओली विष्ट पनि गम्भीर घाइते भएकी छन्। उनलाई थप उपचारका लागि धनगढी ल्याइएको छ । हावाहुरी र असिनापानीका कारण बैतडीमा एक जना घाइते भएका छन्। सोमवार बेलुका आएको हुरीसँगैको वर्षाका कारण यहाँ विभिन्न क्षेत्रमा क्षति पुगाएको प्रहरीले जनाएको छ।
हावाहुरीले सिँगास गाउँपालिका–२ मैतडका विष्णु बोहराको दुईतले जस्तापाताले छाएको घरको छाना उडाएको छ। छाना उडाउँदा जस्तापाताले लागेर घरभित्र रहेका १४ वर्षीय टेकेन्द्र बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए। टेकेन्द्रको टाउकोमा चोट लागेको छ।प्रहरीकाअनुसार सिँगास–५ खैरकोट, सल्याली, ढुङ्गाडका केही घरमा पनि हावाहुरीले क्षति पुगेको छ। पाटन नगरपालिका–८ धारीमा एकतले जस्तापाताले छाएको सामुदायिक भवनको छानो उडाएको छ। उक्त भवनको छानो उडेर नजिकै रहेको विनोद महराको घरबाहिर बाँधेको पाडोलाई लागेर मृत्यु भएको प्रहरी निरीक्षक बडूले बताए। हुरीले रुख ढल्दा डिलाशैनी गाउँपालिका–६ नेगाउस्थित निङ्लासैनी आधारभूत विद्यालयको शौचालयमा क्षति पुगेको छ।
हावाहुरीका कारण सडकमा रुख ढलेर महाकाली राजमार्ग पनि अवरुद्ध भएको थियो। डिलाशैनी–६ बाङ्गाबगरमा रुख ढलेर केहीबेर अवरुद्ध राजमार्ग अहिले नियमित सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । असिनापानीले फलफूल र तरकारीमा क्षति पुगेको दोगडाकेदार गाउँपालिका–४ का उमेश भट्टले जानकारी दिए। हावाहुरीका कारण विद्युत् सेवा पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ। अवरुद्ध विद्युत् सेवा सञ्चालनको प्रयास भइरहेको जिल्लास्थित नेपाल विद्युत् प्राधिकरणका प्रमुख जनार्दन पौडेलले बताए।
यसैबीच डडेल्धुराको नवदुर्गा गाउँपालिकामा हावाहुरीले व्यापक क्षति पुगाएको स्थानीयले बताएका छन । अविरल बर्षा र हावाहुरीका कारण नवदुर्गा गाउँपालिकाको बेलापुर, सुवाकोट, गिल्ला र मम्मेका केहि स्थानमा भौतिक र आर्थिक क्षति भएको स्थानीय बताउँछन । नवदुर्गा गाउँपालिकाले विपद्मा परेका गाउँबासीहरुलाई अविलम्ब राहात प्रदान गरिने जनाएको छ। गाउँपालिका उपाध्यक्ष निर्मलाकुमारी बोगटी विष्टले सामाजिक सञ्जाल फेसबुकमार्फत पिडीतलाई संयमता अपनाउन आग्रहगर्दै अविलम्व गाउँपालिकाले राहात उपलब्ध गराउने जनाएकी छिन्।