बाजुरा सदरमुकाम मार्तडीमा खानेपानीको सङ्कट

बाजुरा–बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा खानेपानीको सङ्कट देखिएको छ। पछिल्लो लामो समयदेखि परेको खडेरीका कारण पानीका मुख्य मुहानहरू सुकेपछि दैनिक उपभोगका लागि आवश्यक पानी पाउन स्थानीयवासीलाई हम्मे–हम्मे परेको हो।

स्थानीय जसबहादुर विकका अनुसार करिब एक महिनादेखि पानीको आपूर्ति अत्यन्तै न्यून भएको छ। ‘हरेक वर्ष चैतदेखि जेठसम्म पानीको समस्या भइरहन्छ, तर समाधान भने कहिल्यै हुन्न,’ विकले गुनासो गरे। सदरमुकाम मार्तडीस्थित बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र बडीमालिका नगरपालिकाको समन्वय कमजोर भएकाले समस्या दोहोरिरहेकामा स्थानीय आक्रोशित छन्। बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझीले भने समस्या समाधानका लागि डिभिजन खानेपानी कार्यालयसँग सहकार्य गर्दै प्राविधिक जनशक्ति परिचालन गरिएको जानकारी दिए। ‘यसै आर्थिक वर्षभित्र बजार क्षेत्रमा शुद्ध पानी पु¥याउने लक्ष्यसहित काम अघि बढाइएको छ,’ उनले बताए।

मार्तडी बृहत खानेपानी कार्यालयका व्यवस्थापक कर्णबहादुर रावलका अनुसार हाल छ सय घरधुरीमा रहेका धारामा दिनको एकपटक मात्र एक घण्टा पानी प्रवाह गर्न सकिएको छ। तर आगामी महिनाभित्र डोटी डिभिजन खानेपानी कार्यालयको ५० लाख रुपियाँको सहयोगमा झाल्ले नौलाबनबाट पानी आपूर्ति गर्ने योजना अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। रावलका अनुसार करिब साढे दुई किलोमिटर पाइपलाइन खनिएको छ भने आधुनिक मिटर प्रणालीमार्फत नियमित पानी वितरणको तयारी भइरहेको छ। तर अहिले पनि बजार क्षेत्रका भम्क, थापाबाडा, पानीपाल, बाउलीलगायतका स्थानीयवासी टिन, जर्किन र गाग्रीमा पानी बोकेर टाढाटाढाबाट ल्याउन बाध्य छन्।

You might also like