गेटा र सेती अस्पताललाई समेटेर आगामी शैक्षिक सत्रबाट नर्सिङ र एमबिबिएस पढाइ हुने
डडेल्धुरा–प्रतिनिधिसभाबाट आईतबार ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित भएसँगै कैलालीको गेटामा नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि कानुनी गाँठो फुकेको छ। विधेयक पारित भएसँगै सुदूरपश्चिममा खुसीयाली छाएको छ।
देशका अन्य सबै प्रदेशमा मेडिकल कलेज, प्रतिष्ठान स्थापना हुँदा पनि सुदूरपश्चिममा एउटा चिकित्सा शिक्षण संस्था खुल्ने ढोका खुलेपछि खुसीयाली मनाइएको हो। शिक्षामन्त्री रघुजी पन्तले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ पारित गरियोस् भनी आइतबार प्रतिनिधिसभामा पेस गरेको प्रस्ताव सर्वसम्मत पारित भएसँगै सुदूरपश्चिममा मेडिकल शिक्षाको औपचारिक ढोका खुलेको हो। राष्ट्रिय सभाले ०८० मा विधेयक पारित गरिसकेको थियो, अब राष्ट्रपतिले प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित भएपछि ऐनका रूपमा लागू हुनेछ ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा र सेती प्रादेशिक अस्पताललाई समेटेर सञ्चालन गरिने स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले बताए । हाल गेटा अस्पताल ५० र सेती ५० स्वीकृत भए पनि १२५ शैय्यामा चलिरहेका छन्। तीन सय शैय्यामा पुर्याएर पोस्ट ग्य्राजुएट पनि सञ्चालन गरिने उनले बताए । ०८३ देखि थप तीन सयसहित छ सय शैय्याको अस्पताल सञ्चालन हुनेछ । त्यहाँ मेडिकल शिक्षाको मास्टर्स तहका डाक्टर अफ मेडिसिन (एमडी) र मास्टर अफ सर्जरी (एमएस) कोर्स सञ्चालन हुनेछ । अब सरकारले उपकुलपति र अन्य पदाधिकारी नियुक्त गर्नेछ ।
सरकारले ०६६ मा गेटा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय गरेसँगै भौतिक पूर्वाधार निर्माण थालिएकामा पछिल्लो समय मेडिकल कलेज, प्रतिष्ठान वा विश्वविद्यालय भनेर विवाद हुँदै आएको थियो । तर, सरकारले फेरि ०८० मा विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेर विधेयक अगाडि बढाएको थियो । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले १९ असोज ०८० मा राष्ट्रिय सभामा विधेयक दर्ता गराएका थिए। डडेल्धुरामा नर्सिङ पढाइ भइरहे पनि सुदूरपश्चिममा प्रतिष्ठानसमेत थिएन । चिकित्सा शिक्षा आयोगका अनुसार हाल देशभर २१ वटा मेडिकल कलेज, आठवटा स्वास्थ्य विज्ञान प्रतिष्ठान र १५० वटा बिएस्सी नर्सिङ, फार्मेसी, ल्याब टेक्निसियन अध्यापन हुने शैक्षिक संस्था छन् । सुदूरपश्चिम भने वञ्चित थियो ।
अनेकौँ अवरोध र समस्या झेल्दै सुदूरपश्चिमले स्वास्थ्य जनशक्ति उत्पादन र मेडिकल सेवा प्रदान गर्ने गरी विश्वविद्यालय पाएको नेपाली कांग्रेस विपीका नेता कर्णबहादुर मल्लले प्रतिक्रिया दिए । ‘लामो संघर्ष र लडाइँपछि सुदूरपश्चिममा स्वास्थ्य विज्ञान विश्वविद्यालय खुल्ने निश्चित भएको छ, यो हामी सबैका लागि खुसीको कुरा हो,’ उनले भने। नेपालमा सर्वप्रथम त्रिविअन्तर्गत इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) स्थापना भएपछि चिकित्सा शिक्षाको अध्ययन सुरु भएको थियो । तर, ५३ वर्षसम्म पनि सुदूरपश्चिम क्षेत्रमा यसको अध्ययन हुन सकेको थिएन् । विधेयकलाई तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले अघि बढाएकी थिइन् । उनले विधेयकलाई प्रतिनिधिसभामा पुर्याएकी थिइन् । गएको हिउँदे अधिवेशनले छलफल टुंग्याएपछि अधिवेशनको अन्तिम कार्यसूचीमा चढेको विधेयक समय अपुगका कारण पारित गर्न सकेको थिएन्।
गेटामा छ सय शैयाको अस्पताल र मेडिकल कक्षा सञ्चालन गर्न सकिने पूर्वाधार तीर्न वर्षअघि नै तयार भएको छ । हाल ५० शैयामा अस्पताल चलिरहे पनि कम्तीमा ६०० शैयामा चलाउने मिल्ने गरी भौतिक संरचना बनेको तत्कालीन गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका पूर्वकार्यकारी निर्देशक हेमराज पुजाराले बताए । उनका अनुसार २९ वटा भौतिक संरचना निर्माणका लागि हालसम्म सात अर्ब हाराहारी खर्च भएको छ । मेडिकल कलेजका लागि निर्मित संरचनामा सरकारले ०८० कात्तिकबाट ५० शैयाको अस्पताल सञ्चालनमा ल्याएको थियो।