गठबन्धन सरकारबिरुद्ध प्रमुख सत्ता साझेदार कांग्रेसभित्र तिव्र असन्तुष्टि

डडेल्धुरा–प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बर्तमान गठबन्धन सरकारबिरुद्ध प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसभित्र तिव्र असन्तुष्टि बढ्दो छ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमै कांग्रेस सांसद सञ्जयकुमार गौतमले कांग्रेस र एमालेसहित मिलेर बनेको सरकारको अनुभूति हुन नसकेको गुनासो गरे । सरकार, संसद् र न्यायालयप्रति जनताको भरोसा पैदा गर्न नसकिएको उनले बताए। उनको असन्तुष्टि यतिमै सीमित भएन। उनले वर्तमान सरकारबाट जनता निराश भएको र आशा भरोसा पैदा गर्न नसकिएकाले राष्ट्रिय सहमतिको सरकार गठन गर्नमा ढिलाइ गर्न नहुने जिकिर गरे।

कांग्रेसका अर्का नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको आरोप लगाए। एक सार्वजनिक कार्यक्रममा उनले वर्तमान सरकार दुईतिहाइको मजबुत भए पनि जनताले सोचेअनुसार काम सरकारले गर्न नसकेको बताए। कांग्रेस नेता गौतम र साउद मात्रै नभई महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, डा. शेखर कोइरालालगायतका नेताहरू सरकारसँग सन्तुष्ट छैनन्। ओली नेतृत्वको सरकारको कार्यशैलीविरुद्ध उनीहरूले खुलेरै अभिव्यक्ति दिँदै आएका छन्।

सरकार गठन भएको १० महिना पुगेको छ। तर, प्रधानमन्त्री ओली नेतृत्वको सरकार बन्नु अघि भएको दुई दलबीचको सहमतिसमेत कार्यान्वयन हुन नसक्दा नेताहरूले गुनासो पोख्दै आएका छन्। प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित अन्य प्रतिपक्षीले मात्रै नभई सत्तारूढ दल कांग्रेसकै नेताहरूले दुई दलका बीचमा भएको सहमति कार्यान्वयन नभएको बताउँदै असन्तुष्टि र आक्रोश पोख्दै आएका छन्।

You might also like