डडेल्धुरा–पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ शुभारम्भ गरेका छन्।
शुक्रबार बैतडीको पाटन नगरपालिकामा निर्मित स्मारक उद्घाटन गर्दैै अध्यक्ष दाहालले जनजागरण अभियानको शुभारम्भ गरेका हुन् । जनजागरण अभियानको औपचारिक शुभारम्भपश्चात पाटनस्थित खुलामञ्चमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले देशलाई एकताबद्ध बनाउन जागरण अभियान सञ्चालन गरिएको बताए। जनताका समस्या नजिकबाट सुन्नका लागि अभियान सञ्चालन गरिएको र समस्याको सम्बोधनका लागि सिंहदरबार र सडकबाट पहल गर्ने उनले दृढता ब्यक्त गरे।
तराई–पहाड र हिमाललाई एकताबद्ध रुपमा जोड्ने जनजागरण अभियानमार्फत सरकारलाई खबरदारी गरिने प्रचण्डले बताए । माओवादी पार्टी जनताको पार्टी भएको दाबी गर्दै उनले उत्पीडित वर्गको हक अधिकारका लागि माओवादी केन्द्र बलियो हुनुपर्नेमा जोड दिए। किसानका समस्या समाधानगर्दै कृषिमा क्रान्ति ल्याएर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने प्रचण्डले औल्याए। सुदूरपश्चिम विकासको गतीमा अझै पछाडी परेको बताउँदै उनले यहाँको विकास नभइकन देश बलियो हुन नसक्ने जिकिर गरे ।
अभियानको नेतृत्व अध्यक्ष ‘प्रचण्ड’ स्वयंले गर्नेछन । अध्यक्ष ‘प्रचण्ड’ सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल र नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेशका इन्चार्ज समेत रहेका उपमहासचिव गिरिराजमणि पोखरेल लगायत नेताहरू अभियानमा भाग लिन बिहीबार सुदूरपश्चिम पुगेका थिए । बिहीबार राती डडेल्धुरामा माओवादी केन्द्रका सबै प्रदेशसभा सदस्यसहितको बैठकले दलको नेतामा खगराज भट्टलाई पुर्नस्थापित गर्ने निर्णय सर्वसम्मत रुपमा कार्यान्वयन गरिएको माओवादी केन्द्रले जनाएको छ । झण्डै एक बर्षदेखि माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलमा उत्पन्न विवाद अध्यक्ष प्रचण्डको उपस्थितिमा समाधान गरिएको हो ।
शुक्रबार बिहान डडेल्धुरा सदरमुकाममा ‘मर्निङ वाक’पछि प्रेस सेन्टर नेपाल डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामा न्यानो स्वागत पाएको सुनाए। ‘देउवाजीले फोन गरेर गृहजिल्लामा न्यानो स्वागत गर्नुभयो,’ उनले भने, ‘कांग्रेसका पाका नेताहरु भेटघाट गर्न पुग्नुभयो, बर्तमान राजनीतिक अवस्थाका बारेमा कुराकानी भयो ।’
अहिले सरकारभन्दा पनि जनता तिर फर्किएको दाबी गर्नुहुँदै प्रचण्डले सरकार गलत बाटोमा हिँडिरहेको र त्यसको खबरदारी आवश्यक रहेको बताए ।
पाटनमा जनजागरण अभियानको शुभारम्भपछि शुक्रबारनै डडेल्धुरा सदरमुकाममा जनसम्वाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सुदूरपश्चिमको समग्र विकासका लागि माओवादी क्रियासिल रहने जिकिर गरे । यसअघि हुलाकी राजमार्ग केन्द्रित तराईमूलक अभियान सम्पन्न गरेको माओवादी केन्द्रले अब मध्यपहाडी लोकमार्गमार्फत भूगोलसँगै जनसम्पर्क विस्तार गर्ने जनाएको छ । अभियानले मध्यपहाडी लोकमार्ग अन्तर्गतका बिभिन्न जिल्लामा कार्यकर्ता भेला, जनसभा र विकासको आवश्यकतासम्बन्धी छलफल गर्नेछ । यसले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी राजनीतिक एजेन्डा प्रस्तुत गर्ने अवसरका रूपमा लिएको माओवादी केन्द्रले जनाएको छ । जनजागरण अभियान जेठ १० गते कास्की पोखरामा समापन हुनेछ ।