हरेक सात बालकमध्ये एकजना यौन हिंसाबाट प्रभावित
डडेल्धुरा–पछिल्लो समय बालिका यौनहिंसा जस्तै बालकलाई पनि यौनहिंसा तथा दुर्व्यवहार हुन्छ र उनीहरूलाई पनि संरक्षण चाहिन्छ भन्ने अवाज विश्वभर उठिरहेको छ।
विश्वभर हरेक सात जना बालकमध्ये एक जना बालक १८ वर्ष हुनु अघि यौन हिंसाबाट प्रभावित हुने तथ्यांक युनिसेफको पछिल्लो अध्ययनले देखाएको छ। आजको समयमा विश्व समाजमा लुकेर बसेको यस्तो विषयलाई उजागर गरी चेतना फैलाउन आवश्यक ठानेर फेमिली फर एभरी चाइल्ड युकेले १६, अप्रिल २०२१ बाट ुनीलो छाता दिवसु को सुरुवात गरेको छ। भ्वाइस अफ चिल्ड्रेनकी कार्यक्रम म्यानेजर कृति भट्टराईले प्रस्तुत गरेको बालकविरुद्धको यौन हिंसाको प्रस्तुतीमा विश्वमा बालकहरू हिंसामा पर्नुको साथै नेपालमा पनि बालकहरू हिंसामा परेको तथ्य उजागर गरिन्। युनिसेफको सन् २०२४ को एक प्रतिवेदन ‘ह्वेननम्बर्स डिमान्ड एक्सन’ ले देखाएको तथ्य अनुसार विश्वभर ४१ करोडदेखि ५३ करोड बालक तथा पुरुषहरू यौन दुर्व्यवहार तथा यौन हिंसामा पर्ने गरेका छन्।
अर्थात प्रत्येक ७ मध्ये १ जनाले बाल्य अवस्थामा नै यौन हिंसा भोगेको तथ्य उजागर गरेको छ। यसमा २४ करोडदेखि ३१ करोड बालक तथा युवा हरेक ११ मध्ये १ जनाले बलात्कार तथा यौंन हिंसा भोगेको तथ्यांक पनि यो प्रतिवेदनको नतिजामा सार्वजनिक रहेको छ। यति धेरै संख्यामा बालकहरू पीडित हुने तथ्यांक रहेको भए पनि विश्वका ६ देशमध्ये १ देशले मात्र यौन हिंसाबाट पीडित बालकहरूको तथ्यांक राष्ट्रिय रूपमा संकलन गर्ने गरेको पाइएको अध्ययनले देखाएको छ। नेपालमा भने बालकलाई पनि यौन हिंसा हुन्छ भनी भएको पहिलो घटना २०५६ सालमा ब्रिटिश स्कुलका एक शिक्षकले गरेको यौन दुर्व्यवहारलाई लिन सकिन्छ। यो केश प्रहरीमा दर्ता भए पनि कानुन अभावमा सार्वजनिक ऐन अन्तर्गत मुद्दा चलाइएको थियो। राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दका अनुसार नेपालमा बालकमाथि हुने यौन हिंसा तथा दुर्व्यवहारहरू प्रहरीमा दर्ता भएका घटनामा उतारचढाव देखिएको छ।
नेपाल प्रहरी, महिला बालबालिका ज्येष्ठ नागरिक सेवा निर्देशनालयको वार्षिक तथ्यांक अनुसार ०७७ मा ९० जना बालकहरू यौन हिंसाबाट प्रभावित थिए भने ०७८ मा ९३ जना बालकहरू यौन हिंसाबाट प्रभावित थिए। यस्तै ०७९ मा ३४ जना बालक यौन हिंसा तथा दुर्व्यवहारमा परेको उजुरी दर्ता भएको छ। यसैगरि ०८० मा ३३ जना र ०८१ मा १९ जना बालकहरू यौन हिंसा र दुर्व्यवहारमा परेको उजुरी प्रहरीमा परेको थियो। यस बाहेक पनि प्रहरीमा दर्ता नभएका, लुकेका र लुकाइएका धेरै बालक यौन हिंसासम्बन्धी घटना रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । बालकप्रति हुने यौन दुर्व्यवहारका प्रकृति हेर्दा मलद्वार मैथुन, मुख मैथुन, शरीरका विभिन्न अंगहरूमा घर्षण, यौनजन्य अंग तथा सामग्रीहरू देखाउने, विभिन्न यौन क्रियाकलापमा सहभागी गराउने जस्ता कृयाकलाप गर्ने गरेको पाइएको छ।
नेपालमा बालक यौन हिंसा पुरुषबाट मात्र नभइ महिलाबाट पनि हुने गरेको छ । वि.सं. २०५७ सालमा फ्रान्सेली महिलाविरुद्ध ठमेल क्षेत्रमा सडक बालकका रूपमा रहेका बालकहरूलाई फकाएर यौन दुर्व्यवहार गरेको मुद्दा दर्ता भएको थियो। राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी चन्दका अनुसार नेपालमा बालक यौन दुर्व्यवहार र यौन हिंसाका घटनाहरू मुख्य रूपमा विदेशी पर्यटकहरूमाट हुने गरेको छ। राष्ट्रिय बाल अधिकार परिषदकी सदस्य सचिव इन्द्रदेवी ढकालले बालक यौन हिंसा नेपाली समाजमा मौन महामारी जस्तै जेलिएको भन्दै बालकहरूलाई यौन हिंसाबाट बच्न उनीहरूलाई बालबालिका सम्बन्धी बनेका थुप्रै कानुनी संरचनामा पहुँच पु¥याउनु पर्नेमा जोड दिइन्। अब छोरीलाई मात्र होइन छोरालाई पनि घर परिवार, अभिभावक तथा विद्यालयले गुड टच र ब्याड टचबारे समेत ज्ञान दिनु पर्ने कार्यक्रममा वक्ताहरूले सुझाएका थिए।