भारतमा चोरी गरेको अभियोगमा कैलालीबाट आठ जना पक्राउ

धनगढी–भारतको दिल्लीमा भएको चोरीसम्बन्धी घटनामा संलग्न आठ जना नेपाली कैलालीबाट पक्राउ परेका छन्।

११ अप्रिलमा दिल्लीस्थित स्थानीय कपिल बद्रीलालको घरमा चोरी भएको घटनामा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। चोरीको घटनामा संलग्नलाई नियन्त्रणमा लिन आवश्यक समन्वय गरिदिन भारतीय दूतावासले अनुरोध गरेको थियो । सोही आधारमा धनगढीका तीन जना सुनचाँदी व्यवसायीसहित आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा अछामको मेल्लेख गाउँपालिकाको सेल गाउँका राजेश साउँद, गोकुल साउँद, सुरेश साउँद, धनगढीको एसके सुनचाँदी पसलका सञ्चालक सुरेश बर्मा, दिपेन्द्र सोप र रोविक सुनचाँदी पसलका सञ्चालक रोहित सिंजापती रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रकाश मल्लले पुष्टि गरे ।

उनकाअनुसार गोदावरी नगरपालिकाका मीनबहादुर गुरुङ र ज्ञानेन्द्र खड्कालाई समेत पक्राउ गरिएको छ । यो प्रकरणमा संलग्न दुई जना भारतीय नागरिकसहित झापाका देव मल्ल र दोलखाका शंकर लामा भारतको दिल्लीमा पक्राउ परेका छन् भने अन्य तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी जारी छ।प्रहरीकाअनुसार उनीहरूको साथबाट नगद २८ लाख नेपाली रुपैयाँ, दुई सय ४० ग्राम सुन, १३ तोला सुनको गरगहना, चार किलो ९ सय ग्राम चाँदी र चार वटा घडी बरामद भएको छ। प्रहरीका अनुसार बद्रीलालको घरबाट दुई किलो सुन, २२ लाख भारु, १० किलो चाँदी र १० वटा घडी चोरी भएको भन्दै भारतीय दूतावासमार्फत समन्वयका लागि पत्राचार भएको थियो। भारतमा हुने चोरीको हकमा दुई देशबीचको संयुक्त कानुन अभावमा सोही शीर्षकमा मुद्दा चलाउन चुनौतीपूर्ण भए पनि प्रहरीले समन्वय गरेर आरोपितको साथमा भेटिएको नगद र गरगहना सम्बन्धित पक्षलाई नै फिर्ता गराउने गरेको छ। प्रहरीका अनुसार भारतमा घरेलु कामदारका रूपमा जाने नेपाली संगठित रूपमा चोरीमा संलग्न हुने गरेको देखिन्छ।

You might also like