महेन्द्रनगर–एसियाली विकास बैंकको एक अर्ब सहयोगमा सुदूरपश्चिमको सिमान्त सहर महेन्द्रनगर आधुनिक सहरका रुपमा विकसित भएको छ।
महेन्द्रनगर बजारका गल्लीहरू आठ मिटर चौडा, हरेक गल्लीमा अपांगमैत्री पैदल मार्ग र छुट्टै साइकल लेन निर्माण गरिएको छ। बजारमा व्यवस्थित ढल निकास निर्माण भएको छ। महेन्द्रनगर योजनाबद्ध व्यवस्थित सहर हो। गुरुयोजनाअनुसार निर्माण गरिएको सहरलाई व्यवस्थित र सुन्दर बनाउन एसियाली विकास बैंकको सहयोगमा भीमदत्त नगरपालिकाले क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगर बजारलाई आधुनिकीकरण गरेको हो। आयोजनाको पहिलो चरणअन्तर्गत एक अर्ब रुपैयाँ लगानीमा १४ किलोमिटर सडक कालोपत्रे गरिएको भीमदत्त नगरपालिकाका सबइन्जिनियर पवन लेखकले जानकारी दिए। उनका अनुसार २२ किलोमिटर ढल निकास, बजार क्षेत्रमा ४ किलोमिटर रेलिङ र ७ सय ७६ लाइट जडान भएका छन्।
त्यसैगरी बजारमा आठ वटा हाइमास्ट लाइटसमेत जडान गरिएका छन्। गल्लीमा रहेका बिजुलीका पोल र टेलिफोनका तारहरू गल्लीको पछाडि भागमा व्यवस्थित गरिएको छ। पार्किङका लागि गल्ली पछाडि व्यवस्था मिलाइएको छ। एसियाली विकास बैंकले पहिलो चरणको काम सम्पन्न गरेपछि दोस्रो चरणमा आठ किलोमिटर सडक र १० किलोमिटर ढल निकासका लागि ६६ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ। आधुनिक सडक निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी भइरहेको भिमदत्त नगरपालिकाले जनाएको छ। राजा महेन्द्रले गुरुयोजनाअनुसार महेन्द्रनगर बजारको निर्माण गरेको यहाँका जानकारहरू बताउँछन्। २०१८ सालमा राजा महेन्द्रले ब्रह्मदेवको बजारलाई महेन्द्रनगर सार्न आदेश दिएका थिए। त्यतिबेलाको बेलौरी सदरमुकाम पनि महेन्द्रनगर सरेको थियो।
सरकारी कार्यालय स्थापना गर्दा पनि हेभी गाडी सञ्चालन हुने कार्यालय राजमार्गसँग जोडेर बनाइएको छ। प्रशासनिक भवन महेन्द्रनगर बजारको एकातर्फ छन्। प्लानिङ रूपमा बनेको महेन्द्रनगर बजार सुन्दर छ। यसलाई अझै व्यवस्थित गर्न सके यहाँको बजार पर्यटकहरूका लागि समेत आकर्षण बन्ने यहाँका व्यवसायी बताउँछन्। महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली र व्यापारिक केन्द्र भएकाले यसलाई नगरपालिकाले थप व्यवस्थित गर्नुपर्ने यहाँका व्यवसायीको माग छ। बजार क्षेत्रका सडक किनारामा हरियाली र थप लाइटिङको व्यवस्थापन गर्न सके महेन्द्रनगर बजारको सौन्दर्य बढ्ने स्थानीय तुलासिँह धामीले बताए। विपद्को बेला पनि यहाँ सहज हुने गल्लीहरूको निर्माण गरिएको छ। गल्लीहरूमा बनेको कुनै घर ढलिहाले पनि अर्को घरमा कुनै असर गर्दैन।
राजा महेन्द्रले यो बजार बसाएका कारण यस बजारको नाम महेन्द्रनगर नामकरण गरिएको हो। बजारको छेउमा खुलामञ्च छ। यहाँ विभिन्न कार्यक्रम र खेलकुद सञ्चालन हुने गर्छ। व्यापारीक दृष्टिकोणले महत्वपूर्ण मानिने महेन्द्रनगर शहर भारतका ठूला औद्योगिक शहरहरूको छोटो दुरीमा रहेकाले पनि समृद्धिको आशा पलाएको यहाँका व्यवसायी बताउँछन्।