संघीय संसदमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
डडेल्धुरा–संघीय संसदको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल हुँदैछ।
प्रतिनिध सभा बैठक मंगलबार बिहान ११ बजे र राष्ट्रिय सभा बेठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ। सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल प्रारम्भ हुने कार्यसूची तय भएको हो।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो। सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधिनिक व्यवस्था रहेको छ। त्यसकै तयारीमा सरकार लागेको छ।