महेन्द्रनगर–कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरमा अपाङ्गमैत्री पैदल मार्गसहितको १४ किलोमिटर सडक निर्माण गरिएको छ।
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा सिमान्त सहर महेन्द्रनगरमा सडक निर्माण गरिएको हो। बजारका पाँचवटा गल्ली–८ मिटर चौडा गरिनुका साथै अपाङ्गमैत्री पैदलमार्ग र साइकल लेन निर्माण गरिएको छ। योजनाअनुसार सहरलाई व्यवस्थित र सुन्दर बनाउन एडिबीको सहयोगमा भीमदत्त नगरपालिकाले क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत बजारलाई आधुनिकीकरण गरेको छ।
भीमदत्त नगरपालिकाका सबइन्जिनियर पवन लेखकले आयोजनाको पहिलो चरणअन्तर्गत एक अर्ब लगानीमा १४ किलोमिटर सडक कालोपत्रे गरिएको बताए। उनका अनुसार यहाँ २२ किमि ढल निकास, बजार क्षेत्रमा चार किलोमिटर रेलिङ र ७७६ वटा लाइट तथा आठवटा हाइमास्ट लाइटसमेत जडान गरिएका छन् । ‘बजार क्षेत्रमा साइकल लेन निर्माण गरेका छौं,’ उनले भने,‘१४ किलोमिटर कालोपत्रे सडकमा अपाङ्गमैत्री पैदलमार्ग निर्माण भएको छ। बजारका विभिन्न स्थानमा सौन्दर्यका लागि पार्कसमेत निर्माण गरिएका छन्।’ बिजुलीका पोल र टेलिफोन तार व्यवस्थित गरिनुका साथै पार्किङ व्यवस्थापनसमेत गरिएको छ।
पहिलो चरणको काम सम्पन्न भइसकेको र समस्या देखिएका केही स्थानमा निर्माण कम्पनीले मर्मत गरिरहेको छ। सबइन्जिनियर लेखकका अनुसार अब दोस्रो चरणअन्तर्गत आठ किलोमिटर सडक र १० किलोमिटर ढल निकासका लागि ६६ करोड बजेट स्वीकृत भएको छ भने आधुनिक सडक निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ। तत्कालीन राजा महेन्द्रको गुरुयोजना अनुसार महेन्द्रनगर बजारको निर्माण भइरहेको छ। विसं २०१८ सालमा उनले ब्रह्मदेवको बजारलाई महेन्द्रनगर सार्न आदेश दिएका थिए। त्यतिबेला बेलौरीमा रहेको सदरमुकाम पनि महेन्द्रनगर सारिएको थियो। स्थानीय पर्यटन व्यवसायी जगदीशचन्द्र भट्ट महेन्द्रनगर बजारलाई थप व्यवस्थित गर्न सके यो सहर हेर्न लायक बन्ने बताउँछन्।