आँशु भण्डारी
जोगबुडा–इलाका प्रहरी कार्यालय जोगबुडाले भित्रिमधेस क्षेत्रमा अटो रिक्सा व्यवस्थापन गर्न सक्रियता बढाएको छ।
अटो रिक्सा दुर्घटना बढ्न थालेपछि शनिबार भित्रिमधेस क्षेत्रमा अटो रिक्सा व्यवसायीहरुलाई बोलाएर अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ। गत बिहीबार मात्रै आलिताल–८ स्थित बुडर–जोगबुडा सडक खण्डमा अटो रिक्सा दुर्घटना हुँदा चार बर्षीय बालक विवेक विकको मृत्यु भएको थियो। अटो रिक्सा दुर्घटना बढ्दै गएकोमा स्थानीयस्तरमा चिन्ता ब्यक्त गरिन थालिएपछि प्रहरीले अटो व्यवसायीसँग अन्तरक्रियागर्दै अटो रिक्सा व्यवस्थापन गर्न पहल थालेको हो।
इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक सुरज रोकायाले सवारी दुर्घटना न्युनीकरण सम्बन्धमा अटो व्यवसायीहरुलाई विविध जानकारी दिएको कार्यक्रममा सहभागी अटो रिक्सा चालक चन्द्र खातीले बताए । बेला बेलामा यस्ता कार्यक्रम आयोजना हुनसकेमा अटो व्यवसायीहरु सचेत हुने मात्र नभई भबिष्यमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न सहज हुने भएकाले कार्यक्रम निकै सकारात्मक रहेको उनले बताए । अटो व्यवसायीहरुले मनोमानी भाडा असुल गरिरहेको गुनासो बढेपछि भाडामा एकरुपता ल्याउन प्रहरीले आग्रह गरेको छ भने सवारी चालक अनुमति पत्र भएका अटोचालकहरुले तीन भन्दा बढी यात्रु राख्न नपाउने, सवारी चालक अनुमति पत्र नभएका चालकहरुको हकमा पहिलो पटक दुई हजार रुपैयाँ जरिवाना गर्ने र पुनः लाईसेन्सबिना चलाइएको पाइएमा अटोसहित आवश्यक कारवाहीका लागि जिल्ला ट्राफिक प्रहरीलाई सिफारिस गर्ने निर्णय गरिएको प्रहरीले जनाएको छ।
अटो रिक्सा व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई छ। स्थानीय सरकारले त्यसमा ध्यान दिन सकेको छैन। स्थानीय सरकारको मातहतमा अटो रिक्सा व्यवसाय आएपछि ट्राफिक प्रहरीको निगरानी पनि कम भएको गुनासो बढ्दै गएको छ । स्थानीय सरकारले अटो रिक्सा व्यवस्थापनमा ध्यान दिनुपर्ने स्थानीय अगुवाहरु बताउछन्। हाल यातायात व्यवस्था कार्यालयले अटो रिक्साको दर्ता नवीकरणलगायत आवश्यक सबै प्रक्रिया स्थानीय सरकारबाटै गर्ने गरी जिम्मेवारी दिएको छ। भित्रिमधेस क्षेत्रमा इलेक्ट्रिक र पेट्रोलियम गरी करिब एक सय ३० भन्दाबढी अटो रिक्सा सञ्चालनमा छन।