डडेल्धुरा–भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो युद्धको प्रभाव सुदूरपश्चिमका सीमावर्ती क्षेत्रहरूमा समेत प्रत्यक्ष देखिन थालेको छ। भारतसँग जोडिएका सुदूरपश्चिमका बिभिन्न सिमा नाकाहरुमा चेकजाँचमा कडाइ गरिएको छ। पश्चिमी नाका गड्डाचौकी र गौरीफन्टामा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको टोलीले आवतजावत गर्ने सबै नागरिकहरूमाथि कडाइका साथ निगरानी थालेको छ।
सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका प्रमुख, सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमसिंह धामीले भारत जान चाहने नेपाली नागरिकले अनिवार्य रूपमा नागरिकताको प्रमाणपत्र तथा भारतीय आधार कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने बताए। गृहमन्त्रालय एवं प्रधान कार्यालयको निर्देशन अनुसार धामी आफैंसमेत खटिएर कडाईका साथ कार्यान्वयन गराउन लागेका छन्।
‘सामान्य समयमा भन्दा अहिले चेकजाँच, गस्ती र पेट्रोलिङ व्यापक रूपमा बढाइएको छ,’ डीएसपी धामीले भने। उनका अनुसार युद्धको संवेदनशीलता र सुरक्षाको दृष्टिले सीमा क्षेत्रमा जोखिम न्युनिकरण गर्न चेकजाँच बढाइएको हो। नेपाल प्रहरीले समेत सीमामा निगरानी तीव्र पारेको जनाएको छ। हालको परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूलाई उच्च सतर्कताका साथ परिचालन गरिएको छ।
सुदूरपश्चिम प्रदेशका अन्य नाकाहरु झुलाघाट, दार्चुला जिल्लास्थित बिभिन्न नाकाहरु र डडेल्धुराको भित्रिमधेस नाकामासमेत सुरक्षा जाँच बढाइएको स्थानीय बताउँछन । स्थानीय प्रशासनले सीमा क्षेत्रका बासिन्दालाई सचेत रहन र शंकास्पद गतिविधि देखिएमा सुरक्षाकर्मीलाई जानकारी गराउन अनुरोध गरेको छ।