नेपाली वैज्ञानिकको खोजः लालीगुराँसमा महत्त्वपूर्ण पोषण

बैतडी–नेपालको राष्ट्रिय फूल लालीगुराँस केवल सौन्दर्यको प्रतीक मात्र नभई खाद्य र पोषण सुरक्षाका साथै रोग प्रतिरोधात्मक तत्त्वले भरिपूर्ण रहेको पाइएको छ।

लालीगुराँसको फूलबाट गुणस्तरीय जुस, वाइन बनाउन सकिने सम्भावना हालै प्रकाशित नेपाली वैज्ञानिकको अध्ययनले देखाएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का मुख्य वैज्ञानिक अधिकृत डा. लोकरञ्जन भट्टको नेतृत्वमा युवा अनुसन्धानकर्ता हरि अछामीको टोलीले लालीगुराँसबाट निर्मित जुस र बाइनको भौतिक–रासायनिक, पोषण, सुगन्ध, स्वाद र एन्टिअक्सिडेन्ट क्षमता सम्बन्धी अनुसन्धान सम्पन्न गरेका छन।

अनुसन्धान कार्यले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित वैज्ञानिक पत्रिका‘अप्लाईड फुड रिसर्च’मा स्थान पाएपछि नेपाली वैज्ञानिक थप हौसिएका छन्। डा.भट्टले उक्त अनुसन्धानबाट गुराँसको फूलबाट निर्मित जुस र वाइनको भौतिक–रासायनिक संरचना, पोषण र प्रतिपोषणीय तत्त्व र एन्टिअक्सिडन्ट क्षमताको वैज्ञानिक मूल्याङ्कन भएको बताए। उनले गुराँसबाट उच्च स्तरको जुस र वाइनका साथै खाद्य प्याकेजिङ सामाग्री समेत बनाउन सकिने बताए ।

अनुसन्धानबाट प्राप्त नतिजाका अनुसार गुराँसको फूलबाट निर्मित पेय पदार्थहरूमा मानव स्वास्थ्यका लागि उपयोगी मानिने उच्च मात्रामा फिनोलिक, फ्लावोनोइड, एन्थोसाइनिन, खनिज, भिटामिन, लगायतका एन्टिअक्सिडन्ट तत्वहरु पाइएको छ। लालीगुराँसमा रोग प्रतिरोधात्मक तत्त्व रहेकाले दीर्घ रोगको रोकथामका लागिसमेत महत्त्वपूर्ण हुन सक्ने देखिएको छ।

गुराँस जस्ता वनस्पतिको प्रशोधन र मूल्य अभिवृद्धि गरी व्यावसायिक रूपमा उत्पादन गर्न सकिने सम्भावना देखिएको अनुसन्धानकर्ता हरि अछामीले बताए। गुराँसका उत्पादनहरूमा प्रतिपोषणीय तत्त्वहरूको पनि उपस्थिति रहेको हुँदा उपयुक्त वैज्ञानिक परीक्षण र मापदण्ड अनुसार मात्र उपभोग गर्नुपर्ने आवश्यकता रहेको वैज्ञानिक डा. भट्टले बताए।

पेय पदार्थका अतिरिक्त लालीगुराँसको फूलबाट खाद्य प्याकेजिङ सामग्रीको निर्माण पनि गर्न सकिने सम्भावना रहेको कुरा अनुसन्धानकर्ता डा. भट्टले बताए। उनले लालीगुराँसको फूलबाट बनाइएका खाद्य प्याकेजिङ सामग्रीले मासु बासी भए नभएको परीक्षण गर्न सक्ने र उक्त प्याकेजिङ सामग्रीमा ताजा मासु राख्दा एउटा रङ्ग र बासी भए रङ्ग परिवर्तन गर्ने कुरा बताए। प्रयोगशालामा भइरहेका वैज्ञानिक अनुसन्धानलाई समुदायसम्म पु¥याउने लक्ष्य रहेको डा. भट्ट बताउछन।

लालीगुराँसको फूलमाथि भएको उक्त अनुसन्धानले नेपालको पहाडी क्षेत्रमा खेर गइरहेको लालीगुराँसको वैज्ञानिक र व्यावसायिक उपयोगको सम्भावनालाई उजागर गरेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–४, कपिन्ना निवासी वैज्ञानिक डा.भट्ट लामो समयदेखि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा वरिष्ठ वैज्ञानिकको रूपमा कार्यरत छन् । उनले नेपालका विभिन्न भू–भागमा पाइने जङली खाद्य फलफूलको पोषणीय अध्ययन गरेका छन। त्रिभुवन विश्वविद्यालयबाट वनस्पति विज्ञानमा स्नातकोत्तर गर्नु भएका डा.भट्टले कोरियाको वानक्वाङ विश्वविद्यालयबाट प्राकृतिक उत्पादन विकास विषयमा विद्यावारिधिका साथै पोस्ट–डक्टोरल अनुसन्धानकर्ताको रूपमा काम गरेका छन्।

विगत लामो समय देखि उनले स्नातकोत्तर तथा विद्यावारिधि तहका विद्यार्थी र युवा वैज्ञानिकलाई अनुसन्धान कार्यमा सुपरिवेक्षण गरिरहेका छन्। उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा ५० भन्दा बढी अनुसन्धानमूलक लेख प्रकाशित गर्नुका साथै नेपालका वनफल नामक पुस्तक प्रकाशित गरेका छन्। वैज्ञानिक डा.भट्टले सन् २०२१ मा प्रकाशित गरेको पुस्तक ‘नेपालका जङ्गली खाद्य फल’ले नेपाली वनस्पति विज्ञानमा महत्त्वपूर्ण दस्ताबेजको रूपमा स्थान बनाएको छ। सो पुस्तकले जङ्गली खाद्य फलको वर्गीकरण, उपयोग र पोषणीय पक्षलाई दस्तावेजिकरण गर्दै अनुसन्धान, शिक्षण र नीति निर्माणमा सन्दर्भ पुस्तकको रूपमा प्रयोग हुँदै आइरहेको छ।

डा. भट्ट नेतृत्वको टोलीले नेपाली जनजीवनमा मौलिक रूपमा घुलमिल रहेका वनस्पतिहरूको वैज्ञानिक विश्लेषण गरी तिनको पोषणीय मूल्य, औषधीय गुण, र खाद्य सुरक्षासँगको सम्बन्ध उजागर गर्दै आएको छ। विशेषगरी, हिमाली र पहाडी क्षेत्रमा पाइने अज्ञात वा कम प्रचलनमा रहेका वनस्पतिहरू जस्तै चुत्रो, गुएलो, खनायो, काफल, ऐँसेलु, जङ्गली सुन्तला, अमला लगायत दर्जनौँ फलफूलको अध्ययनबाट थुप्रै नयाँ जानकारीहरू उजागर भएका छन्। उनले यी अनुसन्धानबाट मानव स्वास्थ्यका लागि नयाँ विकल्प प्रस्तुत गर्दै जैविक विविधताको संरक्षण तथा नवप्रवर्तनमा आधारित कृषि तथा खाद्य उद्योगको विकासमा टेवा पुग्ने सम्भावना रहेको बताए।

You might also like