धनगढी–नदीआसपास बसोबास गर्ने कैलालीका किसानलाई खरबुजा बिक्री गर्न भ्याइनभ्याइ भएको छ। उत्पादन राम्रो भएपछि किसानलाई खरबुजा बिक्रीको चटारो भएको हो।
धनगढी उपमहानगरपालिकाभित्रका किसानले धनगढी बजारमा पुर्याएर आफ्नो उत्पादन बिक्री गरिरहेका छन्। वैशाख दोस्रो साताबाट खरबुजा पाक्न सुरु भएकाले बिक्री गर्न दौडधुप बढेको धनगढी उपमहानगरपालिका–९, बङ्गरा कटानका कृषक सियाराम चौधरीले बताए । ‘साँझ बारीबाट टिपेर खरबुजा ल्याउने र भोलिपल्ट बिहानैदेखि बयलगाडामा राखेर बजारमा बिक्री गर्ने गरेको छु,’ उनले भने, ‘दैनिक एक बयलगाडा खरबुजा बेच्ने काम भइरहेको छ।’
कृषक चौधरीले मोहना नदी बगरमा यस वर्ष सात कट्ठा जमिनमा व्यावसायिक खरबुजा खेती गरेका छन । विगत सात वर्षदेखि खरबुजा खेती गर्दै आएको उनले जानकारी दिए । किसानले मोहनासहित खुटिया, शिवगङ्गा नदी बगरमा खरबुजा खेती गरेका छन्। यस वर्ष सबैभन्दा बढी धनगढी उपमहानगरपालिका–१७ को पथरी, धुरझन्नास्थित खुटिया नदीमा खरबुजा खेती भएको जनाइएको छ। त्यस्तै मोहना नदी बगरको बङ्गरा कटान, घुइँयाघाट, जुगेडा क्षेत्रमा पनि धेरथोर किसानले व्यावसायिक खरबुजा खेती गरेका छन्।
सबै क्षेत्रका किसानको खरबुजा बिक्रीको केन्द्र धनगढी बजार बनेको छ। उनीहरू बयलगाडामा राखेर टोल टोल डुल्दै आफ्नो उत्पादन बिक्री गरिरहेका छन्। विगत वर्षदेखि करिब १७ कट्ठा जमिनमा खरबुजा खेती गर्दै आएका पथरीका हरिराम चौधरीले हरेक दिन धनगढी बजार पुगेर खरबुजा बिक्री गर्ने गरेको जानकारी दिए। गाउँका धेरै किसान आफ्नो उत्पादन बयलगाडामा लिएर बिहानै धनगढी बजार पुग्ने गरेको उनको भनाइ छ।
सुरुमा उत्पादन कम भएको बेला प्रतिकेजी ५० रुपियाँसम्ममा बिक्री भएको खरबुजा धनगढी बजारमा अहिले प्रतिकेजी ३० रुपियाँमा बिक्री भइरहेको छ। किसानको उत्पादन बढेपछि खरबुजाको मूल्य घटेको हो। प्रत्येक दिन एक किसानले तीनदेखि छ हजारसम्मको खरबुजा बिक्री गरिरहेको बताइएको छ। बारीमा पाकेअनुसार कुनै दिन एक/दुई क्विन्टलभन्दा बढी कुनै दिन त्योभन्दा कम खरबुजा बिक्रीका लागि ल्याउने गरेको उनीहरूको भनाइ छ।
खरबुजा बिक्री गरेर धान खेतीका लागि कृषि बिउबिजन जोहो गर्न र परिवारको खर्च धान्न सजिलो हुने गरेको कृषक सियारामले बताए । ‘यो काममा मेहनत पनि बढी छ, फाइदा पनि छ,’ उनले भने, ‘घाममा बयलगाडा डुलाउँदै खरबुजा बिक्री गर्नु पर्छ।’ खरबुजा गर्मीयाममा खानका लागि फलदायी मानिन्छ। यहाँका नदी बगरमा थारू समुदायका व्यक्तिसहित भारतीयले पनि व्यावसायिक खरबुजा खेती गर्दै आएका छन्।