डडेल्धुरा–नेपाल भ्रमणमा रहेका भारतीय सत्तारुढ पार्टी भारतीय जनता पार्टी (भाजपा)का बरिष्ठ नेता भगत सिंह कोश्यारीले नेपाली कांग्रेस (विपी) का नेता कर्णबहादुर मल्लसँग शुक्रबार राजधानी काठमाण्डौंमा भेटवार्ता गरेका छन्।
भेटवार्ताका क्रममा नेपालको वास्तविक पहिचान सनातन हिन्दु धर्म भएकाले मुलुकलाई हिन्दु राष्ट्र घोषणा गराउन नेपाली कांग्रेस (विपी) क्रियासिल रहेको मल्लले बताएका थिए । राजनीतिक भेटवार्ताका क्रममा कोश्यारीले मल्ललाई नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ बन्दै गएको जिकिर गरेका थिए । पोखरामा जारी कोटिहोम महायज्ञ समापन कार्यक्रममा सहभागी हुन नेपाल आएका बरिष्ठ नेता कोश्यारीले बुधबार राजधानी काठमाण्डौंमा अवतरण भएसँगै नेपालस्थित बिभिन्न राजनीतिक दलका नेताहरुसँगको भेटवार्ता तिव्र बनाएका छन। शुक्रबारनै गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका बरिष्ठ नेता कोश्यारीले कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री प्रकाशमान सिंह र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
भारतको महाराष्ट्र राज्यका पूर्वराज्यपाल र उत्तराखण्डका पूर्वमुख्यमन्त्री समेत रहेका कोश्यारी नेपालसम्बन्धी जानकार नेता मानिन्छन्। उनी नेपाल-भारत सीमा लगायत सम्पूर्ण विषयमा सुझाव दिन गठित नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को भारतका संयोजक थिए। केही दिनअघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका थिए। उनले मुलुकका दुई दर्जन भन्दाबढी नेपाली नेताहरुसँग भेट गरेका थिए।