डडेल्धुरा–सुदूरपश्चिम प्रदेश सरकारले नौ जिल्लाका सामुदायिक विद्यालयलाई नमुना विद्यालय छनोट गरेको छ। सामाजिक विकास मन्त्रालयले १६ निर्वाचन क्षेत्रका ३२ सामुदायिक विद्यालयलाई नमुना विद्यालय छनोट गरेको हो।
मन्त्रालयले नमुना विद्यालयका लागि प्रदेशभरिका सामुदायिक विद्यालयलाई मागेकोे आवेदनअनुरूप २५ वैशाख ०८१ मा सामाजिक विकासमन्त्री मेघबहादुर खड्काकोे अध्यक्षतामा बसेको बैठकले नमुना विद्यालय छनोट गरेको जनाएको छ। मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत जयदेव महराले हस्ताक्षर गरेको पत्रमा नमुना विद्यालयमा विकास गर्ने प्रयोजनका लागि समग्र विकासको गुरुयोजना बनाएर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम बजेटमार्फत मन्त्रालयमा गुरुयोजना पेस गर्न निर्देशन दिएको छ।
दुई प्रादेशिक निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा परशुराम नगरपालिका–४स्थित भागेश्वर मावि कटाल र गन्यापधुरा गाउँपालिका–४ स्थित भुवनेश्वरी मावि जैसेरा, तीन प्रादेशिक निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा सरस्वती मावि पुनर्वास, महाकाली मावि बेलौरी, कृष्ण मावि गुलरिया, भुवनेश्वरी मावि सिसैया, लक्ष्मी मावि बागफाँटा बागफाँटा र लक्ष्मी मावि दोधाराचाँदनी छनोट भएका छन्।
बाजुरामा जनप्रकाश मावि र पशुपति मावि बुढीनन्दा, डोटीमा राधाकृष्ण मावि, शिखर, बर्छैन मावि बडिकेदार, बैतडीमा वासुदेव मावि लिष्किटा, वीरेन्द्र मावि साहिलेक, बझाङमा लामातोला मावि खप्तडछान्ना, सरस्वती मावि बुङ, दार्चुलामा सम्पाल मावि व्यास, लटिनाथ मावि मार्मा, अछाममा प्रभाधम्कोट मावि र नेपाल राष्ट्रिय मावि चाफामाडौं, मासप मासवप बला, गुरुकुल मावि ढकारी, कैलालीमा महेन्द्र शिशु मावि जानकी, त्रिभुवन मावि टीकापुर ,जनजागृती मावि लम्कीचुहा, महुन्याल मावि बर्दगोरिया, राष्ट्रिय मावि कैलारी, छडी मावि घोडाघोडी, मालिका मावि गौरीगंगा, सरस्वती मावि गोदावरी, शारदा मावि जुगेडा र पञ्चोदय मावि धनगढी छनोट भएका छन्।
परशुराम नगरपालिका–४ कटालस्थित भागेश्वर माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल ‘डाईमण्ड’ ले प्रदेश सरकारले नमुना विद्यालय छनोट गरेसँगै समग्र सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि कार्यक्रम अघि बढाइने बताए। सामुदायिक विद्यालयमा बालविकासदेखि आधारभूत तहमा विद्यार्थी आकर्षण घटिरहेका वेला बालमैत्री शैक्षिक कार्यक्रम ल्याएर शैक्षिक विकास गरिने उनले जानकारी दिए ।