महेन्द्रनगरमा वैशाख २६ देखि सुदूरपश्चिम प्रादेशिक पर्यटन महोत्सव

महेन्द्रनगर–कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव हुने भएको छ। सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको सम्भावना तथा प्रचारप्रसारका लागि वैशाख २६ गतेदेखि महेन्द्रनगरमा तीन दिने पर्यटन महोत्सव आयोजना हुन लागेको हो।

भीमदत्त नगरपालिका र पर्यटन बोर्डको सहकार्यमा महोत्सव आयोजना हुन लागेको भीमदत्त पर्यटन विकास समितिका संयोजक तथा महोत्सव आयोजक समितिका संयोजक राजेन्द्र केसीले बताए। उनका अनुसार सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरूको जानकारी गराउने, सुदूरपश्चिममा आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउनेबारे नेपाल र भारतका पर्यटन व्यवसायीहरूबीच छलफल गर्ने महोत्सवको उदेश्य रहेको छ।

भारतबाट ५० जना पर्यटन व्यवसायी र विज्ञहरूको टोली महोत्सवमा सहभागी हुने उनले जानकारी दिए। महोत्सवको तयारी तथा व्यवस्थापनका लागि विभिन्न समिति तथा उपसमिति गठन गरिएको महोत्सव आयोजक समितिका संयोजक केसीले बताए। महोत्सवको वैशाख २६ गते बिहान ११ बजे पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उद्घाटन गर्नेछन्। उद्घाटन समारोहको अध्यक्षता भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले गर्नेछन्। पयर्टन महोत्सव आयोजना गर्नका लागि भीमदत्त नगरपालिकाले पाँच लाख र पर्यटन बोर्डले २५ लाख ६० हजार बजेट विनियोजन गरेको छ।

You might also like