थारु होमस्टे गाउँ भादा देशभरिमा उत्कृष्ट

धनगढी–थारू कला, संस्कृतिको खुला सङ्ग्रहालयका रूपमा परिचित कैलालीको होमस्टे गाउँ भादा देशकै उत्कृष्ट घोषित भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारागाउँ विकास समितिले होमस्टे गाउँ भादालाई यस वर्ष मुलुककै उत्कृष्ट होमस्टे घोषित गरेको हो। साथै समितिले होमस्टे गाउँ भादालाई एक लाख रुपैयाँ पुरस्कार पनि प्रदान गरेको छ । धनगढी उपमहानगरपालिका–१६ स्थित यो गाउँमा २०६७ सालबाट होमस्टे सुरु गरिएको थियो। थारू समुदायको मात्रै बसोबास रहेको भादा गाउँवासीले थारू समुदायका विभिन्न परम्परागत नृत्य, गीत, भेषभूषालाई होमस्टेका माध्यमबाट प्रवर्धन गर्ने कार्य गर्दै आएका छन्।

मौलिक कला, संस्कृति जोगाउने कार्यमा डटेर लागेका कारण होमस्टे गाउँ भादालाई थारू संस्कृतिको खुला सङ्ग्रहालयका रूपमा लिने गरिएको छ। होमस्टे सञ्चालन गरेको डेढ दशकको अवधिमा होमस्टे गाउँ भादाले थारू समुदायको कला, संस्कृतिको संरक्षण, प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको समितिको ठहर छ। कला, संस्कृतिसहित, पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानलगायत विभिन्न मापदण्डका आधारमा समितिले होमस्टे गाउँ भादालाई यस वर्ष देशकै उत्कृष्ट होमस्टे घोषित गरेको जनाइएको छ।

भादामा २० घरमा होमस्टे सञ्चालनमा रहेको छ । प्रदेशको अस्थायी राजधानी धनगढीबाट १८ किलोमिटरको दुरीमा रहेको यो होमस्टेमा थारू परिकारको स्वाद लिनका लागि आगन्तुक पुग्ने गरेका छन्। यसैगरी बर्दियाको डल्ला होमस्टे दोस्रो उत्कृष्ट होमस्टे बनेको छ । सो होमस्टेलाई ७५ हजार रुपैयाँ पुरस्कृत गरिएको छ। यस्तै काठमाडौँको हाँडीगाउँ होमस्टे तेस्रो भई नगद ५० हजार रुपियाँ पुरस्कारको हकदार बनेको छ।

You might also like