धनगढी–आफ्नै निर्देशन नमान्ने सुदूरपश्चिम प्रदेशसभाका माओवादी सांसदलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेटक्वाटर बोलाएका छन्। यस अघि दिएको दुई पटकको निर्देशन नमान्ने सांसदलाई प्रचण्डले काठमाडौं बोलाएका हुन्। सुदूरपश्चिममा संसदीय दलको नेताका विषयमा माओवादीभित्र डेढ वर्ष यता चरम विवाद देखिएको छ।
पटक पटक सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूलाई पठाएको सर्कुलर कार्यान्वयन नगरेपछि आगामी २४ गते बिहान ९ बजे प्रचण्ड निवास खुमलटारमा सांसदहरूलाई बोलाइएको हो। केन्द्रीय कार्यालयबाटै सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन जानकारी गराइएको छ। ‘हामीलाई २४ गते हेडक्वार्टर आउनुहोस् भन्दै म्यासेज आएको छ,’ माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य शिवसिंह ओलीले भने,‘आफ्नै निर्देशन कार्यान्वयन नभएपछि उहाँ रुष्ट हुनुहुन्छ।’
२०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएपछि माओवादीमा विवाद सुरु भएको थियो । १६ महिनादेखि संसदीय दलको विवाद कायम छ। प्रचण्डले प्रदेश संसदीय दलको नेता परिवर्तन गर्न दुई पटक पत्र पठाउँदा पनि निर्देशन कार्यान्वयन नभएपछि अहिले आफैले त्यस विषयमा चासो राखेका छन्।
‘प्रचण्डले आफ्नै निर्देशन कार्यान्वयन गराउन नसकेको भन्दै चरम आलोचना भइरहेको छ । अघिल्लो १४ फागुनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका सबै सांसदलाई बोलाएर आफू कैलाली पुग्नभन्दा पहिल्यै संसदीय दलको विवाद टुङ्गो लगाउन निर्देशन दिएका थिए । पटक पटक लिखित तथा मौखिक निर्देशन दिँदा पनि उक्त निर्णय नफेरिएपछि सबैलाई खुमलटार बोलाएर आफू कैलाली पुग्नुभन्दा पहिल्यै विवाद मिलाउन भनेका थिए । प्रचण्ड दुई पटकसम्म कैलाली पुगिसकेका छन् । तर, विवाद भने मिलेको छैन ।
माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न कैलाली पुगेका प्रचण्ड विवाद नमिल्दै काठमाडौँ फर्किएका थिए । हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान समापनभन्दा भन्दा अघिल्लो दिन कैलाली पुग्दा पनि विवाद मिलेन। संसदीय दलका नेताबाट भट्टलाई हटाइए धामीलाई जिम्मेवारी दिँदा सभामुख बाहेकका १० सांसद मध्य भट्टको पक्षमा चार सांसद रहेका थिए भने, धामीको पक्षमा छ जना सांसद थिए।
धामीको पक्षमा रहेका शिवसिंह ओली पनि हाल भट्टको पक्षमा उभिएपछि दुवै पक्षमा पाँच पाँच सांसद पुगेका छन्। अहिले भट्टको पक्षमा ओली सहित, झपट साउद, रमेश धामी, जानकी पौडेल कुँवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल छन् ।