टीआरसी आयोगमा दलीय भागबन्डा नगर्न प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको ध्यानाकर्षण

काठमाडौं–द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन ध्यानाकर्षणपत्र बुझाएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा आईतबार भएको भेटमा द्वन्द्वपीडित देवी खड्कासहित प्रतिनिधिहरुले सिफारिस समितिले दलीय भागबण्डा नभई निष्पक्ष एवं पीडितले विश्वास गर्न सक्ने व्यक्तिलाई आयोगको अध्यक्ष र सदस्यमा सिफारिस गर्नुपर्ने ध्यानाकर्षणपत्रमार्फत माग गरिएको छ।

दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठित समितिले संक्षिप्त सूची प्रकाशन गरिसकेको छ । प्रधानमन्त्री ओलीले द्वन्द्वकालदेखि नै शान्तिका पक्षमा स्पष्ट कुरा राख्दै आएकाले अहिलेको सरकारका पालामा गठन हुने आयोग र यसका प्रक्रियामा अविश्वास नगर्न आग्रह गरे।

राजनीतिक असमझदारीका कारणले यो प्रक्रिया लामो समय लिएको स्पष्ट गर्दै बलात्कारजस्ता मानवताविरुद्धको जघन्य अपराध गर्नेलाई कानूनी कठघरामा उभ्याएर सजाय दिएरै छाड्ने तथा पीडितलाई न्याय र परिपूरण दिएरै छाड्ने उद्घोष गरे। भेटमा प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए।

You might also like