डडेल्धुरा–सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव लिलाधर सुवेदीले गरिरहेको प्रेस स्वतन्त्रता विरोधी गतिविधीप्रति नेपाल पत्रकार महांसघले आपत्ति जनाएको छ।
नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव रामप्रसाद दाहालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आपत्ती प्रकट गरेका हुन्।‘सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव लिलाधर सुवेदीबाट सामाजिक सञ्जालमा समग्र पत्रकारिता क्षेत्र र सञ्चार गृहलाई लक्षित गर्दै व्यक्त धारणाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
वैशाख २० गते शनिबार अन्नपूर्ण पोष्टको समाचार शेयर गर्दै सुवेदीले ‘पैसा लिएर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई पनि प्रेस स्वतन्त्रता दिवसको शुभकामना’ भनी फेसबुकमा स्ट्याटस लेखेका थिए । ‘पत्रकारले लेखेको समाचारमा चित्त नबुझे या मिडिया हाउसको व्यवहारप्रति गुनासो भए त्यसउपर विधि र पद्धतिअनुसार अघि बढ्नसकिने प्रचलित अभ्यास छ । त्यसविपरीत जिम्मेवार पदमा रहेका व्यक्तिको यो शैली प्रेसलाई कुण्ठित गर्ने र बदनाम गराउने मनसाय प्रेरित रहेको स्पष्ट छ’, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
‘महासंघ प्रेस स्वतन्त्रता विरोधी यो हर्कतप्रति आपत्ति प्रकट गर्दछ । प्रेसको संवैधानिक सुनिश्चितताको ख्याल राखी सम्मान गर्न, कुनै पनि बहानामा पत्रकारलाई हतोत्साहित र बदनाम बनाउने यस्ता हर्कत दोहोरिन नदिनेतर्फ कडा कदम चाल्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा अगाडि भनिएको छ। यसअघि नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले एक विज्ञप्ती प्रकाशितगर्दै सो घटनाको भ्रत्सना गरिसकेको छ।