डडेल्धुरा–नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा संगठन कम्युनिस्ट युवा संगठन नेपालले देशव्यापी रुपमा संगठन विस्तार तथा सुदृढीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
गत शुक्रबार राजधानी काठमाण्डौंमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गरेसँगै सो संगठनले देशव्यापी रुपमा संगठन विस्तार तथा सुदृढीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको नवनिर्वाचित केन्द्रीय समितिका उपाध्यक्ष प्रमोद सिंहले जानकारी दिए । उनले देशका हरेक टोल र बस्तीहरुसम्म कम्युनिस्ट युवा संगठन नेपालको संगठन विस्तार तथा सुदृढीकरण गरिने बताए ।
यसअघि क्रान्तिकारी युवा संगठन नेपाल नाम रहेको सो संगठनले प्रथम सम्मेलनबाट नाम परिवर्तन गरेर कम्युनिस्ट युवा संगठन नेपाल नामाकरण गरेको हो । ‘कुशासन र भ्रष्टाचारका विरुद्ध युवा आन्दोलन, सुशासन र समृद्धिका लागि प्रथम राष्ट्रिय सम्मेलन’ भन्ने मुल नाराका साथ राजधानीको माईतिघर मण्डलाबाट १६ गते रातो ड्रेसमा र्यालीसहित सेतोपुलस्थित ईंच्छुक सांस्कृतिक प्रतिष्ठानमा पुगेर उद्घाटन र बन्दसत्र सम्पन्न गरेको संगठनले जनाएको छ ।
सम्मेलनले हरिश भट्टको नेतृत्वमा ५५ सदस्यीय केन्द्रीय समिती गठन गरेको छ । सम्मेलनबाट उपाध्यक्षमा प्रमोद सिंह, महासचिवमा भुवन रम्तेल, सचिवमा,दीपेन्द्र ऐरी, भिम सुर्खेती, प्रकाश शर्मा, लोकेन्द्र राई र कोषाध्यक्षमा जोतिष रायलाई निर्वाचित गरेको छ । भट्ट नेतृत्वको केन्द्रीयय समितीले दुई बर्ष संगठन हाँक्ने छ । नवनिर्वाचित केन्द्रीय समितिले देशव्यापी रुपमा संगठन विस्तार तथा सुदृढीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको उपाध्यक्ष सिंहले बताए ।