बैतडीका बिस हजार परिवार स्वास्थ्य बिमामा आबद्ध

बैतडी–बैतडीका २० हजार ८३ परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन् ।

जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएदेखि हालसम्म २० हजार ८३ परिवारका ५२ हजार जना स्वास्थ्य बिमामा आबद्ध रहेको स्वास्थ्य बिमा सम्पर्क कार्यालय बैतडीका प्रमुख जमनसिंह बडालले बताए । स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लाका दस ओटै स्थानीय तहमा संयोजन समिति गठन गर्ने कामसमेत भइरहेको छ ।

स्वास्थ्य बिमामा आबद्ध भएका नागरिकको सहजता र स्वास्थ्य बिमामा आम नागरिकको पहुँच पुर्याउन स्थानीय तहमा संयोजन समिति गठन गर्ने कार्य भइरहेको हो । स्वास्थ्य बिमामा आबद्ध हुँदा पाँच जनासम्म सदस्य भएको परिवारले तीन हजार पाँच सय रुपैयाँ प्रिमियम तिरेपछि एक वर्षका लागि एक लाखसम्मको उपचार सुविधा पाउने प्रावधान छ । स्वास्थ्य बिमाको सेवा निरन्तर रूपमा पाउन हरेक वर्ष बिमा नवीकरण गर्नुपर्ने प्रावधान छ ।

पाँच जना भन्दा बढीको स्वास्थ्य बिमा गर्न चाहे प्रति सदस्य थप सात सय रुपियाँका दरले प्रिमियम तिर्नुपर्ने र प्रति थप सदस्य २० हजारका दरले उपचार सेवा पाउने प्राबधान रहेको र हालसम्म बिमा गरेको तीन महिनापछि मात्रै लागु हुने गरेको स्वास्थ बिमा अबदेखि तुरुन्तै लागु हुने भएको बडालले बताए । बैतडीमा जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर स्वास्थ्य केन्द्र मेलौलीमा स्वास्थ्य बिमाका बिरामीले सेवा पाउने व्यवस्था छ ।

You might also like