संस्थापन पक्ष विरोधी गतिविधीमा लागेको आरोपमा रास्वपा सुदूरपश्चिम प्रदेश सभापति विष्टलाई कारबाही गर्न सिफारिस

डडेल्धुरा–पार्टी संस्थापन पक्षको विरुद्धमा गतिविधी सञ्चालन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टलाई कारबाही गर्न सिफारिस गरिएको छ ।

तत्कालीन सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ र पार्टीबाट निष्कासित पूर्वमहामन्त्री मुकुल ढकालसँग मिलेर पार्टी चलाएको आरोपमा विष्टलाई प्रदेशका ९ जिल्ला सभापतिले कारबाहीको सिफारिस गरेका हुन् । उनीमाथि विधानविपरीत पदाधिकारी मनोनीत गरेको, फरक मत राख्नेलाई पदबाट हटाउने, अधिवेशनकेन्द्रित राजनीति गर्ने, पार्टीभित्र गुटबन्दी गर्ने, प्रदेश पदाधिकारी मनपरी तरिकाले नियुक्त गर्नेरहटाउने, प्रदेश समिति बैठकका नक्कली कागजात तयार गरी कागजजी प्रमाण तयार गर्ने, पटक(पटक पार्टी नेतृत्वलाई धोका दिएको लगायतका ११ बुँदे आरोप छ ।

विष्टमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रदेश इन्चार्ज एवं सांसद हरि ढकाललाई निवेदनसमेत दिइएको छ । सुदूरपश्चिमबाट दिपक बोहरा (डडेलधुरा) , विजय जैरु (कञ्चनपुर) र प्रतिभा रावल (अछाम) गरी तीन जना रास्वपाको केन्द्रीय समितिमा छन् । उनीहरु तीनै जना रवि लामिछाने निकट मानिन्छन् । स्रोतका अनुसार प्रदेश सभापति विष्टले लामिछाने निकटका मान्छेलाई पेल्ने र केन्द्रीय नेतालाई अटेर गर्ने अरोपसमेत लगाइएको छ ।

काठमाडौं गएको बेला मुकुल ढकाललाई भेट्ने र सुमनालाई नेता मान्ने गरेको आरोपमा उनलाई पार्टीबाटै निकाल्नेसम्मको रणनीति अपाइएको छ । केन्द्रीय सदस्य विजय जैरुको नेतृत्वमा सबै जिल्लाका सभापतिलाई हस्ताक्षर गर्न लगाएर निवेदन दिइएको हो । विष्टलाई हटाउनका लागि लेखिएको निवेदनमा अछाम र बझाङका जिल्ला सभापतिहरु हस्ताक्षर गर्न तयार थिएनन् । उनीहरुलाई दबाबमा ल्याएर हस्ताक्षर गर्न लगाइएको रास्वपाका निकटस्त श्रोतले जनाएको छ ।

पार्टीभित्र राम्रा मान्छेभन्दा आफू निकटका मान्छेलाई संरक्षण गर्ने प्रवृत्तिको निसानामा आफू पनि परेको रास्वपा प्रदेश सभापति विष्टले बताए । ‘मेरो कामको समीक्षा प्रदेश समितिले गर्नु पर्ने हो । माथिको आड लिएर तलको राजनीति गर्ने प्रवृत्ति छ । राम्रा मान्छेभन्दा हाम्रा मान्छेलाई संरक्षण गर्ने प्रवृत्ति राजनीतिमा देखिन्छ । यसमा हाम्रो पार्टी पनि अछूत रहेन ।’

प्रदेश समितिमा निर्णय गर्दा विधिविधानमा रहेर नै गरेको उनको दाबी छ । पार्टीले चलाएको अभियानमा नगएको भन्ने आरोप पनि गलत भएको उनले बताए । १५ दिनसम्म भारतका विभिन्न सहरमा रहेर नेपालीलाई पार्टीसँग जोडेको कुरा नेतृत्वले नदेखेको उनको गुनासो छ ।

You might also like