क्याम्पस भर्ना नभएका फर्जि विद्यार्थी स्ववियु सभापति

अत्तरिया–कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित राष्ट्रिय कलेजमा निर्वाचित स्ववियु सभापति नक्कली विद्यार्थी भएको खुलासा भएको छ ।
गत चैत्र ४ गते सम्पन्न स्ववियू निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त गठबन्धनका उम्मेदवारलाई भारी मतले हराएर स्ववियु सभापति भएका अखिल क्रान्तिकारीका सुन्दर गौतम क्याम्पसमा भर्ना नभएका फर्जी विद्यार्थी रहेको क्याम्पस प्रशासनले जनाएको छ ।

एमाले र कांग्रेसका भातृ सङ्गठन मिलेर निर्वाचनमा होमिदा पनि माओवादीको भातृ सङ्गठनबाट उम्मेदवार बनेका गौतमले ९७ मतले संयुक्त प्यानलका उम्मेदवारलाई हराएका थिए । दोस्रो बनेका अखिल समाजवादीका माइकल चौधरी ९२ मतले पराजित भए । गठबन्धनलाई तेस्रो बनाएर भारी मतले विजयी भएका गौतम अन्ततः फर्जी विद्यार्थी भएको पुष्ठी भएको छ । उनी अघिल्लो कार्यकालमा पनि स्ववियू सभापतिमा निर्वाचित भएका थिए ।

दोस्रो पटक उम्मेदवार बन्दा स्नातक तह पास भइसकेका गौतमले स्नातकोत्तरमा भर्ना नभएरै स्ववियूको उम्मेदवार भएको देखिएको छ । भर्ना नै नभएका व्यक्तिलाई भर्ना भएको भन्दै भर्ना रजिस्टरमा उनको नाम राख्न स्वयं कलेज प्रशासनका केही कर्मचारीहरू संलग्न थिए । स्ववियू निर्वाचन प्रक्रिया कै बेला फर्जी विद्यार्थीको बहस सुरु भएपनि गौतम भने त्यसमा नमुछिएको जस्तै देखिएका थिए । क्याम्पस प्रशासनकै लेखापाल लक्ष्मण चौधरीले भर्ना भएका विद्यार्थीहरूको नाम राख्ने लेजरमा गौतमको पनि नाम चढाएका थिए । प्रमाणको लागि रकम तिरेको भन्दै फर्जी रसिद नम्बर तयार गरेर लेजरमा राखिएको थियो ।

स्ववियू सभापति निर्वाचित भएको करिब डेढ महिना पछि गौतम फर्जी विद्यार्थी रहेको र किर्ते प्रमाणहरू तयार गरेको खुलेको हो । स्रोतका अनुसार गौतमले केही प्राध्यापकहरूलाई आफ्नो भर्ना गरिदिन र शुल्क समेत तिर्न भनेका थिए । तर, गौतमले भनेका व्यक्तिले तोकिएको समयसम्म रकम दाखिला गरेर भर्ना नगरेपछि उनको भर्ना छुटेको थियो । त्यसपछि स्ववियू नजिकिएपछि कर्मचारीहरूले नै फर्जी कागजात तयार गरेका थिए ।

क्याम्पसमा भर्ना नभएर स्ववियू निर्वाचन जितेको विषयमा अहिले सबैले आफ्नो कमजोरी स्वीकार गरिसकेका छन् । क्याम्पस प्रमुख देवेन्द्र कुमार प्रसाईँले आफूले पहिले थाहा नभएको र अहिले विद्यार्थी भर्ना नभएको बारे जानकारी पाएको बताए । स्ववियू निर्वाचन संयोजक प्रभात बोगटीले मतदाता नामावली माग गरेको र लेखा शाखाबाट दिएको नामावली अनुसार अन्तिम नामावली प्रकाशन गरेको जानकारी दिए ।

स्ववियु सभापति गौतमले आफूले भर्ना गरिदिन भनेको तर, भर्ना भए नभएको जानकारी नलिएको बताएका छन् । उनले आफूले इन्ट्रान्स दिएको र डकुमेन्ट बुझाएको दाबी गरे । स्ववियू निर्वाचन सकिएलगत्तै फर्जी विद्यार्थी मतदाता रहेको भन्दै जिल्ला अदालत कैलालीमा मुद्दा परेको थियो । उक्त विवादमा गौतम भने मुछिएका थिएनन् । तर, अहिले उनी पनि फर्जी भएको पुष्टि भएको छ ।

अदालतमा मुद्दा परेपछि सभापति लगायत निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ भएको छैन । शपथ नहुँदै सभापति नै फर्जी भएको खुलेको छ । यसले यहाँको स्ववियू निर्वाचन माथि नै प्रश्न खडा गरेको छ । भर्ना नै नभएका व्यक्ति स्ववियू सभापति भएपछि अहिले क्याम्पसमा खैलाबैला मच्चिएको छ । यस विषयमा क्याम्पसले सर्वदलीय छलफल गर्न विद्यार्थी नेताहरूलाई बिहीबार बिहान ८ बजे बोलाएको छ ।

You might also like