बेलडाँडीको सभामा भाषण नगरी हिँडे प्रचण्ड, कञ्चनपुरबाट सकियो माओवादीको जागरण अभियान

महेन्द्रनगर–हुलाकी राजमार्ग केन्द्रित जनतासँगको अभियानका क्रममा कञ्चनपुरको बेलडाँडी गाउँपालिका पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल जनसभालाई सम्बोधन नगरी फर्किएका छन ।

२०७४को निर्वाचनमा बुहारी बिना मगरले चुनाव जितेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा पर्ने बेलडाँडी गाउँपालिकामा आयोजित औपचारिक कार्यक्रममा सहभागी संख्या न्यून भएपछि उनी सम्बोधन नगरी महेन्द्रनगर पुगेका हुन । बेलडाँडी पुगेपछि प्रचण्डले गाडीभित्रैबाट सिसा खोलेर कार्यक्रमस्थल नियालेका थिए । फेरि सिसा बन्द गरेर केहीबेर गाडीभित्रै बसे । कार्यक्रम सञ्चालकले पटक(पटक पार्टी अध्यक्ष आइपुगिसकेको र स्वागत गर्न भनेपछि उनी गाडीबाट ओर्लिएर मञ्चतिर लागेका थिए ।

मञ्चमा खाँदा लगाएपछि आफूसँग समय नभएको भन्दै प्रचण्ड फरक्कै फर्किएको कार्यक्रमका सहभागीहरु बताउछन । उनले भाषण नगरेपछि कार्यक्रम समाप्त भएको घोषणा गरियो । उद्घोषकले समयको पाबन्दीले गर्दा प्रचण्डले बोल्न नभ्याएको बताए । ‘कञ्चनपुर जिल्लाको महेन्द्रनगरको कार्यक्रमलाई सम्बोधन गर्नुपर्ने, अध्यक्ष कमरेड प्रचण्ड लगायतको टिम फिर्ता हुनुपर्ने भएको हुँदा समयको पाबन्दीका कारण कार्यक्रम स्थगित गर्दै आगामी कार्यक्रम महेन्द्रनगर कञ्चनपुरमा हुने जानकारी गराइन्छ’, मञ्चबाटै भनियो ।

माओवादी बेलडाँडी गाउँ कमिटीका अध्यक्ष डम्मर शाहले समय नभएका कारण नै कार्यक्रममा सम्बोधन नभएको दाबी गरे । माओवादीले बुधवारै कञ्चनपुरको भीमदत्त नगरपालिकामा ‘तराई(मधेश जागरण अभियान’ अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित जनसंवाद कार्यक्रमको समापन गरेको छ । बीचमा रोकिएर फेरि सुरु भएको गरेको यो अभियान दुई महिनापछि बुधवार कञ्चनपुरको भीमदत्तनगर पुगेर समापन भएको हो ।

अभियान समापन कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानका क्रममा जनताका मुद्दा, अधिकार र विकासका मुद्दा उठान गरिएको बताए । उनले अभियानका क्रममा शहीद र बेपत्ताका परिवारलाई भेटेर उनीहरूको अवस्था नजिकबाट बुझ्ने काम भएको पनि बताए । अभियानबाट अपेक्षा गरिएको भन्दा बढी उपलब्धि हासिल गरिएको प्रचण्डको दाबी थियो ।

You might also like