जनमत र नागरिक उन्मुक्तिबिच पार्टी एकता घोषणा हुँदै

डडेल्धुरा– जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच बुधबार पार्टी एकता घोषणा हुँदैछ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना भइरहेको औपचारिक कार्यक्रममा एकीकृत पार्टी ‘नागरिक जनमत पार्टी’को घोषणा गरिनेछ ।

एकीकृत पार्टीमा जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका चार गरी कुल १० सांसद रहनेछन् । यो एकतापछि नागरिक जनमत पार्टी तराई–मधेश क्षेत्रको सबैभन्दा ठुलो दलका रूपमा स्थापित हुनेछ । हाल जसपा नेपाल पाँच सिटमा खुम्चिएको छ भने विभाजित समूह जसपासँग सात सांसद छन् । लोसपाका भने चार सांसद छन् । नयाँ पार्टीमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी संरक्षक नै रहनेछन् ।

जनमत पार्टीका अध्यक्ष सिके राउत कार्यकारी अध्यक्ष र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्ष हुनेछिन् । पहिलो वरीयतामा चौधरी, दोस्रो वरीयतामा राउत र तेस्रो वरीयतामा श्रेष्ठ हुनेछन् । चुनाव चिह्न उन्मुक्ति पार्टीको ढकिया हुनेछ । जनमतसँग विचार र भावना मिलेकाले एकताको निर्णय गरेको श्रेष्ठले बताइन् । ‘थरुहट, थारुवानको मुद्दा उठाएका छौँ । जनमतले मधेशी समुदायको मुद्दा उठाएको छ । हाम्रो मुद्दा मिल्छ । विचार, भावना मिलेकाले एकताको निर्णय गरेका हौँ,’ उनले भनिन् ।

बाँकी संरचनाबारे पार्टी एकतापछिको पहिलो बैठकले निर्णय गर्ने भएको छ । घोषणा सभापछि आगामी रणनीतिबारे छलफल हुने उनले बताइन् । चुनावको वेलामा पनि नागरिक उन्मुक्ति र जनमत पार्टीको बिचमा चुनावी तालमेलबारे छलफल भएको थियो । तर, तालमेल भने भएको थिएन । एकतापछि मधेश र थरुहट क्षेत्रमा बलियो शक्ति बन्ने नेताहरूको दाबी छ । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानले एकतापछि पार्टी थप सशक्त हुने बताए ।

उन्मुक्तिका संरक्षक चौधरी र जनमतका अध्यक्ष राउतले एकताबारे निरन्तर छलफल गरेका थिए । उन्मुक्तिकी अध्यक्ष श्रेष्ठले पनि जनमतका नेताहरूसँग केही चरण छलफल गरेकी थिइन् । सुरुमा श्रेष्ठ एकताप्रति सकारात्मक नभए पनि छलफल गर्दै जाँदा उनी एकतामा सहमत भएकी थिइन् । नागरिक उन्मुक्ति पार्टीले केही समयअघि अशोक राई नेतृत्वको जसपासँग पनि एकताबारे छलफल चलाएको थियो । उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ र जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठबिच केही चरण छलफलसमेत भएको थियो । तर, पछिल्लो समय जसपासँग एकताको छलफल रोकिएको छ ।

रेशम चौधरीले जेलबाटै पार्टी गठन गरेर श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएका थिए । ‘राजबन्दी मुक्ति’को एजेन्डा लिएर निर्वाचनमा गएको उन्मुक्ति पार्टीले प्रत्यक्षमा श्रेष्ठसहित चार सिट जितेको थियो । समानुपातिकमा भने आवश्यक मतसंख्या पुगाउन नसक्दा राष्ट्रिय पार्टी हुन सकेको थिएन । जनमत पार्टीबाट अध्यक्ष सिके राउत जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै निर्वाचित भएका थिए ।

समानुपातिकबाट पाँच सांसदसहित जनमत पार्टी राष्ट्रिय दल बनेको हो । राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ न्यूनतम एक सांसद र समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने व्यवस्था छ । जनमतबाट प्रत्यक्षमा सप्तरी– २ बाट राउत प्रतिनिधिसभा सदस्य छन् । यस्तै, नागरिक उन्मुक्तिबाट प्रत्यक्षतर्फ कैलाली– १ बाट रञ्जिता श्रेष्ठ, कैलाली– २ बाट अरुनकुमार चौधरी, कैलाली– ३ बाट गंगाराम चौधरी र बर्दिया– २ लालवीर चौधरी प्रतिनिधिसभा सदस्य छन् । प्रदेशतर्फ जनमतका मधेशमा १३ र लुम्बिनीमा तीन गरी १६ सांसद छन् । नागरिक उन्मुक्तिका सुदूरपश्चिममा सात, लुम्बिनीमा चार र मधेशमा एक गरी १२ सांसद छन् ।

You might also like