शहीद दशरथ चन्द विश्वविद्यालयमा सेरेमोनियल कुलपति

डडेल्धुरा–सुदूरपश्चिमको गेटामा स्थापना गरिन थालिएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सेरेमोनियल कुलपति रहने भएका छन ।


प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा जुटेको सहमतिअनुसार विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुनेछन । तर, कुलपतिको भूमिका दिक्षान्त समारोहको अध्यक्षतामा मात्रै सीमित रहनेछ । विश्वविद्यालयको निर्णय प्रक्रियामा सहकुलपतिले कार्यकारी अधिकार प्रयोग गर्नेछन ।

विश्वविद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री र स्वास्थ्य तथा जनसंख्यामन्त्री गरेर दुई जना सहकुलपति रहने छन । विश्वविद्यालय सभाको नेतृत्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले गर्नेछन । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सचिव दशरथ धमलाकाअनुसार स्वास्थ्यसँग जोडिएकोले स्वास्थ्यमन्त्री समेत सहकुलपति रहने गरी विधेयक अघि बढेको हो । अन्य विश्वविद्यालयमा सहकुलपति शिक्षामन्त्री मात्रै रहने व्यवस्था छ ।


दुई जना सहकुलपति रहने व्यवस्था नेपालमा पहिलो पटक अभ्यास गर्न लागिएको हो । जहाँ कुलपति अर्थात, प्रधानमन्त्रीको भूमिका सेरेमोनियल हुनेछ । प्रधानमन्त्रीले केवल दीक्षान्त समारोहको अध्यक्षता गर्नेछन । विश्वविद्यालयको पदाधिकारीमा उपकुलपति, रजिष्ट्रार, डीन, प्रिन्सिपल र अस्पताल निर्देशक रहनेछन । विश्वविद्यालयमा विश्वविद्यालयको सर्वोच्च निकायको रूपमा एक सभा रहनेछ । सभाको अध्यक्ष सहकुलपति शिक्षामन्त्री रहने र उपाध्यक्ष सहकुलपति स्वास्थ्यमन्त्री हुनेछन ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष र उपकुलपति विश्वविद्यालय सभाको सदस्य रहने छन । शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयको सचिव पनि सदस्य हुन्छन । विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको स्थानीय तहको प्रमुख पनि सदस्यको रूपमा रहने छन ।


स्वास्थ्य विज्ञानको क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तिमध्येबाट कार्यकारी परिषद्को सिफारिसमा कम्तीमा तीन जना महिला सहित सभाबाट मनोनीत छ जना सदस्य हुने प्रावधान राखिएको छ । भविष्यमा स्थापना हुने चिकित्सा विधा तर्फका कलेज यसै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुनेछन । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गरेर स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन÷ अनुसन्धान गर्ने सरकारको लक्ष्य छ ।

You might also like