डडेल्धुरा – डडेल्धुराको भित्रिमधेस क्षेत्र परशुराम नगरपालिका–४ कटालस्थित शिर्ष साना किसान कृषि सहकारी संस्थामा भएको चोरी प्रकरण मेलमिलापतर्फ मोडिएको छ ।

सो सहकारी संस्थामा चोरी भएको एक बर्षपछि डडेल्धुरा प्रहरीले गत फागुन २६ गते सहकारी संस्थाका अध्यक्ष बिरेन्द्र विष्ट, प्रबन्धक हरिशप्रसाद भट्ट, सहप्रबन्धक सुमित्रा शर्मा भट्ट, कार्यालय सहयोगीहरु महेश सार्की र मदनसिँह धामीलाई प्रक्राउ गरेर न्यायीक हिरासतमा राखेर अनुसन्धान शुरु गरेको थियो । गत बर्ष २०८० चैत्र २५ गते सो सहकारी संस्थाको कार्यालयबाट ११ लाख १३ हजार चार सय ९६ रुपैयाँ नगद र सरसामाग्रीसमेत चोरी भएको भन्दै सहकारी संस्थाका तर्फबाट प्रहरीमा उजुरी परेको थियो । सहकारी संस्थाको कार्यालयबाट झ्याल फोडेर नगदसहित सीसीटीभी क्यामराको डिभाईस चोरी भएको सो सहकारी संस्थाले जनाएको छ ।
लामो समयसम्म गम्भीर रुपमा अनुसन्धान गरेको दाबी गरिरहेको डडेल्धुरा प्रहरीले चोरीमा संलग्न ब्यक्तिको पहिचान गर्न सकेन । घटनामा सहकारी संस्थाका कर्मचारी र सञ्चालकहरुको समेत मिलोमतो हुनसक्ने आधारहरु देखिएकाले अध्यक्ष र कर्मचारीहरुलाई प्रक्राउ गरेर न्यायीक हिरासतमा राख्दै अनुसन्धान टुंग्याएको प्रहरीले मुद्दा दर्ता गर्न खोज्दा घटना मेलमिलापतर्फ मोडिएको हो । ‘प्रहरी अनुसन्धान टुंग्याएर मुद्दा दर्ता गर्ने तयारी स्वरुप आवश्यक कागजातसहितको फायल सरकारी वकिल कार्यालयमा पेश गरेका थियौं,’ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरिक्षक उपेन्द्र बमले भने, ‘सरकारी वकिल कार्यालयबाट प्रचलित सहकारी ठगी तथा बैकिङ कसुरसम्बन्धि कानून अनुरुप मेलमिलापमा मुद्दा टुग्यांउने मौखिक सुझाव प्राप्त भएको छ ।’

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी सुगन्ध श्रेष्ठले आवश्यक प्रमाण जुटाएर अभियुक्तबिरुद्ध सहकारी ठगी मुद्दामा कारवाही गर्न सरकारी वकिल कार्यालयमा कागजात पेश गरिएको बताए । ‘पछिल्लो एक बर्षदेखि सहकारी चोरी प्रकरणमा अनुसन्धान हुन नसकेको भन्दै प्रहरीको टाउको दुःखाईको विषय बनेको थियो । भित्रिमधेस पुग्दा सो घटनाको अनुसन्धानमा प्रहरी चुकेको भन्दै स्थानीयले निकै गुनासो गर्ने गरेका थिए,’ डीएसपी श्रेष्ठले भने,‘यसपटक प्रहरी अनुसन्धान घटनामा संलग्न ब्यक्तिसम्म पुगिसकेको थियो । अभियुक्तले कसुर कबुल गरिसकेको र आवश्यक सबै प्रमाण जुटाएर मुद्दा दर्ता गर्न खोज्दा कानूनी प्रावधानअनुरुप मेलमिलापतर्फ घटना मोडिन पुगेको छ ।’
सरकारी वकिल कार्यालय डडेल्धुराबाट लिखित रुपमा कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । सरकारी वकिल कार्यालय डडेल्धुराका सूचना अधिकारी हरिहर भट्टले सहकारी ठगी र बैंकिङ कसुर मुद्दाका अभियुक्तले क्षति भएको रकम दाखिला गरेको बैंक भौचर पेश गरेमा मुद्दा मेलमिलापमा टुङ्गिने कानूनी प्रावधान रहेको बताए । स्थानीयस्तरमा गठित संघर्ष समितिका संयोजकसमेत रहेका परशुराम नगरपालिका–४ का वडाध्यक्ष बिश्रामसिंह बोहराले सर्वसधारणले बचत गरेको रकम असुल उपर भएमा मेलमिलापबाट मुद्दा टुग्याँउन सकिने बताए । ‘बचतकर्ताको निपेक्ष डुब्नु भएन,’ उनले भने, ‘रकम असुल हुनुपर्ने हाम्रो माग हो ।’
