डडेल्धुरा-कृषि ज्ञान केन्द्र डडेल्धुराको आर्थिक तथा प्राविधिक सहयोगमा डडेल्धुराको परशुराम नगरपालिका वडा नं.५ परिगाँउमा चैते धानको रोपाई गरिएको छ ।
परशुराम नगरपालिका वडा नं.५को परिगाउमा संञ्चालन भईरहेको श्री लटिनाथ आई.पी.एम.कृषक पाठशालाका सदश्य किसानहरुको खेतमा हर्दिनाथ १ र सुक्खा ५ जातको चैतेधानको रोपाई सुरु गरिएको हो ।
कृषि ज्ञान केन्द्र डडेल्धुराका सहायक वागवानी विकास अधिकृत तथा सुचना अधिकारी राम सिँह बोहरा सहितको टोलीले परिगाउ स्थित श्री लटिनाथ आई.पी.एम.कृषक पाठशालाका किसानहरु लाई चैते धानको विउ छनौट गर्ने विधि, बेर्ना तयार गर्ने विधिका साथै चैते धान लाई आवश्यक पर्ने मलखादको विषयमा जानकारी प्रदान गरेको थियो ।
कृषि ज्ञान केन्द्र डडेल्धुराको आर्थिक तथा प्राविधिक सायोगमा संञ्चालन भइरहेको कृषक पाठशालामा चैते धानको बेर्ना राख्ने देखी फसल भित्राउने सम्मको छलफल हुने गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले बताउनु भयो ।
गत वर्ष चैते धानको सफल परिक्षण भए पश्चात यो वर्ष क्षेत्र विस्तार गर्ने उद्देश्य अनुरुप जिल्लाको परशुराम नगरपालिकाको ६० रोपनी जमिनमा चैते धानको खेती सुरु गरिएको हो ।
चैते धानको खेती गर्दा वर्षमा दुई पटक धान खेती गर्न सकिने तथा खाद्य सुरक्षाको साथै धान आयात लाई प्रतिस्थापन गर्न केही हद सम्म सहयोग पुग्ने देखिएकोले चैतेधान लाई प्राथमिकतामा राखेर कार्यक्रम संञ्चालन गरिरहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले बताउनु भयो ।
डडेल्धुराको परशुराममा चैते धान प्रवद्र्धनका लागी परशुराम नगरपालिका वडा नं.४ कटाल स्थित शिर्ष साना किसान सहकारी संस्था लिमिटेडले पनि सहयोग गरिरहेको छ । सहकारीले परशुराम नगरपालिकाको विभिन्न वडाका किसानहरु लाई चैते धानको विउ तथा मल वितरण गरिरहेको छ ।
नेपालमा फागुनको अन्तिम हप्ता देखी बैशाखको दोश्रो हप्ता सम्म चैते धान रोप्ने गरिन्छ ।