सुदूरपश्चिमकै व्यवस्थित सिताके च्याउ फर्म डडेल्धुराको गन्यापधुरामा

कुनै बेला युरोपियन मुलुक पुग्न मरिहत्ते गरेका डडेल्धुराका एक युवा अहिले डडेल्धुरामा सुदूरपश्चिमकै पहिलो व्यवस्थित सिताके च्याउ फर्म संञ्चालन गरिरहेका छन् ।
रोजगारको सिलसिलामा भारत तथा मलेसियामा बिताएका गन्यापधुरा गाउपालिका वडा नं.१ मत्कट्टेका ४० वर्षिय अन्तराम जोशी साथीभाईको लहलहैमा लागेर युरोपियन मुलुक पोल्यान्ड जाने सपना बुनेर काठमाण्डौ पुगेका थिए । पोल्यान्डको भिषा प्रोसेसको क्रममा सामान्य खर्च जुटाउन काठमाण्डौका विभिन्न कृषि फर्ममा काम गरेका अन्तराम लाई त्यहाँ सिकेको शिपले आत्म निर्भर बनायो ।


सुरुका ६ महिना भिषा प्रोसेस संगै च्याउ फर्ममा पार्ट टाईम काम गरेका अन्तरामले त्यसपछी साथी भाईहरु संग मिलेर विभिन्न कृषि फर्महरुको लागी च्याउको घर निर्माण गर्ने, पराल पोका तयार पार्ने जस्ता कामहरु ठेक्कामा लिन थाले पछी भने च्याउ खेतीका बारेमा सिक्ने अवसर पाए ।
च्याउ फर्ममा काम गर्ने दौरान जापान बाट फर्केर काठमाण्डौमा च्याउखेती गरिरहेका एक जना युवकले यूरोपियन मुलुक जान लाग्ने रकमको आधा जती लगानीमा राम्रै काम आफ्नै देशमा गर्न सकिन्छ भनेर भनेपछी अन्तरामको पनि सोच बदलियो युरोप जाने सोच त्यागेर घर पर्किए । अन्तराममात्र होईन पछिल्लो समय विदेश जाने युवाहरुको संख्या मात्र होईन स्वदेसमै केही गर्न सकिन्छ भनेर उद्यम सुरु गर्नेहरुको संख्या पनि बढीरहेको अमरगढी ५ का युवा दिपकराज पाठक बताउछन् ।

गन्यापधुरा गाँउपालिकाले विदेशबाट फर्किएका कोरोना प्रभावित युवाहरुलाई सहयोग गर्ने कार्यक्रम अनुसार च्याउको विउ ५० प्रतिसत अनुदानमा दिए पछी अन्तरामको च्याउखेतीको अध्याय सुरु हुन्छ । पछि बिस्तारै कृषि ज्ञान केन्द्रको सहयोगले च्याउखेती बिस्तार गर्न सहयोग पुग्यो ।
डडेल्धुराको बजारमा कन्ने च्याउको उत्पादन प्रशस्त भएकोले आफ्नो उत्पादनको बजारीकरणमा समस्या हुने आकलन गर्दै बजारमा गोब्रे र सिताके च्याउको माग देखे पछी च्याउ फर्म सुरु गरेको दोश्रो वर्ष अर्थात २०७९मा ५० मुढा बाट सिताके च्याउ सुरु गरे । डडेल्धुरामा उत्पादन र बजारको दृष्टिकोणले च्याउखेतीको सम्भावना रहेको र किसानहरु लाइ च्याउखेतीका लागी कृषि ज्ञान केन्द्र बाट सहयोग भइरहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र राज पनेरु बताउछन ।


बजारमा राम्रो खपत भए पछी अहिले विस्तार गरेर ७ सय भन्दा वढी मुढामा सिताके च्याउ उत्पादन गरिरहका छन् । सिताके च्याउ उत्पादनमा सुदूरपश्चिममै नमुना फर्म बनाउने उद्देश्यका साथ २ हजार भन्दा बढी मुढामा च्याउ उत्पादन गर्ने योजना रहेको अन्तराम बताउछन् ।
पोल्यान्डको भिषा नलागेकोमा उनलाई कुनै पछुतो छैन । हाल सबै खर्च कटाएर मासिक ५० देखी ६० हजार सम्म बचत भइरहेको छ र आगामी वर्ष बाट च्याउको उत्पादन बढे संगै आम्दानी पनि बढ्नेछ । स्वदेशमै पनि धेरै अवसर रहेकोले युवाहरु लाई स्वदेशमै धेरै गर्न सकिने अन्तराम बताउँछन् ।


पछिल्लो समय कृषि प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरले आयोजना गरेको ७ दिने नवितम कृषि प्रविधि तालिममा सहभागी भएका उनी च्याउ उत्पादन तालिम दिन जिल्ला बाहिर पुग्ने गर्दछन । कृषि ज्ञान केन्द्र डडेल्धुराको सहयोगमा भर्खर मात्र प्रथम प्रदेश स्तरीय कृषि तथा पशुपंक्षि मेला धनगढी र डडेल्धुरा महोत्सव डडेल्धुरामा आफुले उत्पादन गरेका सिताके च्याउको प्रदर्शनी समेत गर्न भ्याए ।
पछिल्लो समय बेरोजगारी समस्या बढ्दै गईरहेको भन्दै युवाहरु पलायन भईरहेको सन्दर्भमा युवाहरु लाई व्यवसायीक खेती तर्फ आकर्षित गर्न सके र कागजमा भन्दा बारीमा खेतीपाती गर्ने किसान लाई राज्यको तर्फ बाट सहयोग उपलब्ध गराउन सके खाडी मुलुकमा गएर पसिना बगाउनु पर्ने दिन हट्दै जाने थियो की ?

 

You might also like