आशुँ भण्डारी
जोगबुडा, २६ फागुन
डडेल्धुराको भित्रिमधेस क्षेत्र परशुराम नगरपालिका–४ कटालस्थित शिर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट रकम चोरी भएको एक बर्षपछि सोमबार प्रहरीले सहकारी संस्थाका अध्यक्ष र कर्मचारी गरेर पाँच जनालाई पक्राउ गरेको छ ।

लामो अनुसन्धानका क्रममा चोरीमा संलग्न ब्यक्तिको पहिचान हुन नसकेपछि प्रहरीले अनुसन्धानका क्रममा सहकारी संस्थाका अध्यक्ष बिरेन्द्र बिष्ट, प्रबन्धक हरिशप्रसाद भट्ट, सहप्रवन्धक सुमित्रा शर्मा भट्ट, कार्यालय सहयोगी महेश सार्की र कार्यालय सहयोगी मदनसिँह धामीलाई आवश्यक अनुसन्धानका लागि प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

गत बर्ष चैत्र २५ गते सहकारी कार्यालयबाट ११ लाख १३ हजार चार सय ९६ रुपैयाँ चोरी भएको भन्दै सहकारी संस्थाका तर्फबाट प्रहरीमा उजुरी परेको थियो । सहकारी संस्थाको कार्यालयबाट झ्याल फोडेर नगदसहित सीसीटीभी क्यामराको डिभाईस चोरी भएको सो सहकारी संस्थाले जनाएको छ । घटनामा सहकारी संस्थाका कर्मचारी र सञ्चालकहरुको समेत मिलोमतो हुनसक्ने आधारहरु देखिएकाले थप अनुसन्धानका लागि प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
‘सहकारी संस्थाको कार्यालय बन्द हुने दिन बैंकबाट छ लाख रुपैयाँ नगद झिेकर संस्थाको कार्यालयमा राखिएको थियो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने,‘कार्यालय बन्द हुने दिन बैंकबाट नगद रकम लिएर संस्थाको लकरमा राखेको पाइएकाले कर्मचारी र सञ्चालकहरुको मिलोमतोमा चोरी भएको आशंका बचतकर्ताहरुको रहेकाले प्रहरी अनुसन्धान त्यतातिरै मोडिएको हो ।’
सीसीटीभी फुटेजबाट भिडियो सार्वजनिक भए पनि प्रहरीले हुलिया ठम्याउन नसकेकाले अनुसन्धान लम्बिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । २०६६ सालमा स्थापना भएको सो सहकारी संस्थाले बिभिन्न सरकारी तथा गैर सरकारी निकायहरुसँग सहकार्यगर्दै बार्षिक रुपमा करिब १२ करोडसम्मको कारोबार गर्दै आइरहेको थियो ।
सहकारी संस्थाका सदस्यहरुको नियमित बचत रकम चोरी भएको सन्दर्भमा वास्तविकता छानबिन गरेर निक्षेप फिर्ता दिलाउन परशुराम नगरपालिका–४ का वडाध्यक्ष बिश्रामसिंह बोहराको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको थियो । ‘घटनाक्रमलाई नियाल्दा सहकारीका सञ्चालक र कर्मचारीतिर अनुसन्धान मोडिन पुगेको छ,’ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरिक्षक उपेन्द्र बलमे भने,‘पक्राउ गरिएका पाँचैजनालाई सदरमुकाम ल्याउन थालिएको छ । अदालतबाट अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
