डडेल्धुरा महोत्सवको उद्घाटन

डडेल्धुुुरा-डडेल्धुरा सदरमुकामको टुडीखेलमा आज एक कार्यक्रमका बिच कृषि पर्यटन, कला, संस्कृति र औद्योगिक व्यापार महोत्सव सुरु भएको छ। महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री गोबिन्द राज बोहराले गर्नुभयो।

राष्ट्रिय संगीतकर्मी संघको आयोजनामा सञ्चालन भईरहेको महोत्सवमा कृषि, पर्यटन, कला र संस्कृति सम्बन्धी विविध प्रदर्शनीहरू राखिएका छन्। साथै, औद्योगिक र व्यापारिक क्षेत्रमा अवसरको सिर्जना गर्नका लागि विभिन्न स्टलहरूको पनि व्यवस्था गरिएको छ।

महोत्सवको उद्घाटन समारोहमा बोल्दै पूर्व मन्त्री गोबिन्द राज बोहराले कृषि र पर्यटन क्षेत्रको विकासमा यस महोत्सवको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । उहाँले सुदूरपश्चिम प्रदेशका प्राकृतिक र सांस्कृतिक सम्पदाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस्ता महोत्सवहरूको महत्वमा विशेष जोड दिनुभयो ।

महोत्सव २२ गतेसम्म सञ्चालन हुने छ । यस अवधिमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुनेछन्। यस महोत्सवले डडेल्धुरालाई सांस्कृतिक र आर्थिक दृष्टिकोणबाट अझ बलियो र मजबुत बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

यस महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने छ ।

You might also like