डडेल्धुरा-घटाल माध्यमिक विद्यालय नुवाकोट डडेल्धुराले आफ्नो ६८औ वार्षिक उत्सव कार्यक्रम आइतबार सम्पन्न गरेको छ। विगतदेखि सञ्चालन गरिएका अक्षय कोषहरूको वृद्धि गर्दै एक करोडको अक्षय कोष स्थापना गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक गणेश बहादुर साउदले जानकारी दिनुभयो ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले विद्यालयका पूर्व शिक्षक , विद्यार्थी ,अभिभावक, समाजसेवी, शिक्षा क्षेत्रमा सहयोग गर्ने सहयोगी दाताहरूबाट अक्षयकोष स्थापना गर्ने समेत जानकारी दिनुभयो। उहाँले भन्नुभयो सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको प्रश्न उठिरहन्छ अभिभावकहरूको पनि संस्थागत विद्यालयतर्फ आकर्षण भएको हुँदा शैक्षिक गुणस्तर सुधारका लागि आगामी शैक्षिक सत्र बाट अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराइने समेत बताउनुभयो। प्रधानाध्यापक साउदले अगामि आर्थिक वर्ष २०८१र०८२ को वार्षिक कार्यक्रम तथा अनुमानित बजेट समेत प्रस्तुत गर्नुभएको थियो। जस अनुसार आयातर्फ २ करोड २८ लाख ३५ हजार ५सय उल्लेख गरिएको थियो । यस्तै खर्चतर्फ २ करोड ५६ लाख ३५ हजार को अनुमानित बजेट प्रस्तुत गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री गोविन्द राज बोहराले आफू मन्त्री हुँदा शिक्षा क्षेत्रमा व्यापक परिवर्तन गर्ने गरी बजेट विनियोजन गरेको जानकारी दिनुभयो । विद्यालयले निर्माण सम्पन्न गरेको दुईतले भवनको उद्घाटन गर्दै उहाँले शैक्षिक गुणस्तरका लागि अभिभावक जिम्मेवार बन्नुपर्ने कुरामा जोड दिनुभयो। आफू पनि घटाल माध्यमिक विद्यालयमा अध्ययन गरेको सम्झना गर्दै उहाँले अहिलेको अवस्थामा मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा शिक्षा र स्वास्थ्य रहेको समेत बताउनुभयो। बालबालिकाको भविष्य निर्माण गर्नका लागि पनि स्वास्थ्य र शिक्षामा लगानी गर्न अपरिहार्य रहेको समेत बताउनुभयो । त्यस्तै विद्यालयको दीर्घकालीन विकासका लागि अक्षयकोष स्थापना गर्न सहयोग गर्नुहुने सम्पूर्ण दाताहरूप्रति समेत आभार व्यक्त गर्नुभएको छ।
श्री घटाल माध्यमिक विद्यालय नुवाको डडेल्धुराको ६८औ वार्षिक उत्सवमा सांगीतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। सुदूरपश्चिमकै चर्चित कलाकार एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल डडेल्धुरा शाखाका अध्यक्ष धनीराम गिरीले देउडा तथा लोकदोहोरी गीतबाट भरपुर मनोरञ्जन गराउनुभयो। त्यस्तै देउडिया नरपता सेटी र केशव पाण्डे लगायतका कलाकारहरूको बीचमा समेत देउडा प्रस्तुत गरिएको थियो। वार्षिक उत्सवलाई भव्यताका साथमा सम्पन्न गर्न विद्यालयका छात्रछात्राहरूले समेत विभिन्न गीतहरूमा नृत्य प्रस्तुत गर्नुभएको थियो।
घटाल माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी, अभिभावक तथा उत्कृष्ट विद्यार्थीहरूलाई समेत सम्मान, पुरस्कृत एवं कदरपत्र प्रदान गरिएको थियो।
कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव सिंह सेटीले गर्नुभएको थियो भने कार्यक्रमको विशिष्ट अतिथि अमरगढी नगरपालिकाका उपमेयर पार्वती झुकाल र अमरगढी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष तथा सामाजिक विकास प्रमुख खेमराज भट्ट रहनुभएको थियो ।
वार्षिक उत्सव कार्यक्रममा अमरगढी नगरपालिकाका विभिन्न वडाका अध्यक्ष , जिल्ला स्थित विभिन्न विद्यालयका शिक्षक , विभिन्न राजनीतिक दलका प्रतिनिधि, पूर्व विद्यार्थीहरू, समाजसेवी, बुद्धिजीवी तथा अभिभावकको उपस्थिति रहेको थियो।