अमेरीकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यु.एस.एड. मार्फत गरिने सम्पूर्ण सहयोग हरु रोक्ने निर्णय गरे पछी त्यसको प्रत्यक्ष मारमा डडेल्धुराको अमरगढी नगरपालिकाका किसानहरु पर्ने देखिएको छ ।
यु.एस.एड.को आर्थिक तथा प्राविधिक सहयोगमा अमरगढी नगरपालिकाको कृषि शाखा मार्फत अमरगढी नगरपालिकाका वडा नं.१, २, १० र ११ मा संञ्चालन भइरहेको कृषि संग सम्बन्धित परियोजना प्रभावित भए संगै अमरगढी नगरपालिकाका किसानहरु प्रत्यक्ष मारमा पर्ने देखिएका हुन ।
५ वर्षिय परियोजनाले सुरुमा ४ वटा वडालाई समेट्ने भनिए पनी ५ वर्षमा नगरपालिकाको ११ वटै वडालाई समेट्ने लक्ष राखेको छ ।
परियोजना संञ्चालन गर्न नेपाल सरकार र यु.एस.एड. विच द्विपक्षिय सम्झौता भएको थियो । यो आर्थिक वर्ष बाट कार्यान्वयन भएको परियोजनाका लागी लुम्बिनि प्रदेशका ३ पालिका र सुदूरपश्चिम प्रदेशका डडेल्धुराको अमरगढी नगरपालिका, कंञ्चनपुरको कृष्णपुर नगरपालिका र कैलालीको कैलारी गाँउपालिका छनौटमा परेका थिए ।
परियोजना संञ्चालनका लागी यु.एस.एड.को तर्फ बाट ३३ करोड ९७ लाख र अमरगढी नगरपालिकाले १० करोड ८४ लाख व्यहोर्ने गरी सम्झौता गरिएको छ ।

प्रविधि विस्तार तथा हस्तान्तरण, यान्त्रीकरण, सिँचाई र क्षमता अभिबृद्धिका कार्यक्रमहरु संञ्चालन गरी ५ वर्षमा अमरगढी भित्रका किसानहरु लाई आत्मनिर्भर बनाउने लक्ष राखिएको अमरगढी नगरपालिकाका कृषि शाखा प्रमुख रमेश बहादुर भण्डारीले बताउनुभयो ।
आलु तथा ताजा तरकारी लाई लक्षित गरि संञ्चालनमा आएको परियोजना अन्तर्गत आलु तथा तरकारी का विउ वितरण, पोली हाउस खरिदका लागी गरिएको टेन्डर, कर्मचारी भर्ना जस्ता कामहरु स्थगीत भएका छन् भने कतिपय भुक्तानिहरु रोकिएका छन् ।
यो आर्थिक बर्षका लागी ४ करोड ४० लाख ७० हजार विनियोजन गरिएको छ भने कार्यक्रम सुरु भएको केही महिनामै अमरगढीका ४ वडाका करिव ८०० किसानलाई आलु खेती तथा तरकारी खेतीमा समेटेको थियो ।

५ वर्षको अवधीमा अमरगढीका ११ हजार किसान लाई समेट्ने लक्ष लिएको परियोजना रद्दको आधिकारीक सुचना नआएको भए पनि हाल लाई ९० दिनका लागी कुनै पनि काम गर्न अनुमती नभएकाले यदि परियोजना रद्द गरिएमा डडेल्धुराका किसान लाई ठुलो घाटा हुने कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो ।

परियोजना संञ्चालन हुने भएपछी खुसी देखिएका किसानहरु अमेरीकी सरकारको निर्णय पछि दोधारमा परेका छन् । परियोजना संञ्चालन हुने भए पछि जिल्ला तथा प्रदेशमा रहेका कृषिका क्षेत्रमा काम गर्ने विभिन्न निकायमा अनुदानका लागी प्रस्तावना पेश नगरेका कारण यो वर्ष अमरगढीका ४ वटा वडाका किसानहरु बञ्चित हुने निश्चित जस्तो नै रहेको अमरगढी नगरपालिका वडा नं.११ का अगुवा किसान पदम बहादुर ऐरले बताउनु भयो ।
परियोजना बाट हाते ट्रयाक्टर, पोली हाउस, सिँचाई, क्षमता विकास तालिमका साथै प्रत्येक वडामा कृषि प्राविधिक नियुक्त गर्ने भनिए पनि परियोजनाको तर्फ हाल सबै काम रोकिए पछि किसानहरु दोधारमा परेका छन् । यस विषयमा सम्बन्धित निकायले पहल गरी दोधारमा रहेका किसानका पक्षमा वकालत गर्न आवश्यक देखिन्छ ।