गत वर्ष “फ्रि भिषा, फ्रि टिकेट” अफरमा राम्रै सेवा सुविधा पाउने गरी मलेसियाका लागी छनौट भएका डडेल्धुराका टेक सिँह चाड लागेको भिषा रिजेक्ट गरी खेतीपातीमा होमीएका छन् ।
उसो त प्लस टु सम्मको अध्ययन पश्चात रोजगारको अवसर नदेखे पछि भागेश्वर गाउपालिका वडा नं. ५ सिराड मल्लागाँउका चाड सन २०१२ मा रोजगारीको क्रममा मलेसीया र दुबई बसेर फर्किएका हुन ।
रोजगारीको क्रममा दुवई पुगेका उनले सुपर मार्केटको तरकारी तथा फलफुल बिक्रि कक्षमा काम पाएका थिए । करिव डेढ बर्ष पछि उनलाई विभिन्न कृषि फर्महरुमा गएर सुपर मार्केट लाई आवश्यक पर्ने तरकारी तथा फलफुल संकलन गर्ने काममा खटाए पछि टेक सिँह चाड तरकारी तथा फल फुल खेती तर्फ आकर्षित भए ।
दुवई जस्तो मरभूमीमा कृतिम तरिकाले विभिन्न प्रजातीका तरकारी तथा फलफुल खेती गरिरहेको देखे पछीे नेपालको माटोमा त सुन फलाउन सकिन्छ भन्ने सोचेर सन २०२० मा दुबईको बसाई लाई बिट मार्दै नेपाल फर्किए ।
सन २०२० मा नेपाल फर्कदा कृषिमा रम्न सकिने कुरामा उनि दोधार थिए त्यसैले दुबईको २ वर्षे भिषा थपेर नेपाल आएका थिए । कृषिमा सफल नहुने जस्तो देखियो भने फेरी दुबई फर्कने सोचेका थिए तर घर परिवार संगको छलफल र यहाँको माहोल देखिए पछि उनि दुबई फर्कनु परेन ।
“करिना कृषि तथा पशुपंक्षी फर्म” स्थापना गरेर तरकारी खेती सुरु गरेका टेक सिँह चाडले पहिलो पटक मै आफ्नो फर्ममा ३० कुईन्टल टमाटर फलाए पछी उनलाई मात्र होईन गाउका अन्य लाई पनि तरकारी खेती बाट केही होला जस्तो गरी हौसला दियो ।
करिव २० घरधुरी भएको उनको गाउँमा २०७८ मा तरकारी खेती सुरु गर्दा उनि एक्लै थिए, दोश्रो वर्ष थप ३ जनाले सुरु गरे । अहिले भने प्रायः सबै घरधुरी व्यवसायीक तरकारी खेतीमा लागेका छन् ।
गाउँमा सामान्यतया करेसाबारीमा तरकारी खेती गर्ने गरिएको भए पनि पछिल्लो समय धेरैले व्यवसायीक तरकारी खेती सुरु गरेको स्थानीय युवा मुकुन्द महता बताउछन् ।

पछिल्लो समय युवाहरु व्यवसायीक कृषिमा लाग्नु समाजको लागी सकारात्मक पक्ष हो । यसले देशको आर्थिक गतिविधिमा टेवा पुरयाउने कुरामा कुनै दुईमत नरहेको कृषि ज्ञान केन्द्र डडेल्धुुराका निमित्त प्रमुख नरेन्द्र पनेरुले बताउनु भयो ।

आफुले उत्पादन गरेको तरकारी तथा फलफुलका साथै बेर्नाहरु स्थानिय बजारमा विक्रि गर्ने गरेको र जिल्ला सदरमुकाम बाट अन्य जिल्लामा पनि निर्यात हुने गरेको बताउदै रोजगारको श्रृजना गाउँमै गर्न सकिने र सानोतिनो रकमको लागी बैदेशिक रोजगारमा नजान सुझाब दिन्छन टेक बहादुर चाड ।
आगामी वर्ष उनको वारीमा हुर्किदै गरेका २०० वटा सुन्तलाको बोटले फल दिन थाल्नेछन् भने त्यसको अर्काे वर्ष थप १५० बोट सुन्तलाको बोटले सुन्तला दिन थाल्नेछ । हाल ७ रोपनी जति समिनमा ताजा तरकारी र बेर्नाहरु लगाईएको छ भने करिव ५ रोपनी जमिनमा आलु लगाइएको छ ।
विदेश बस्दाको मासिक ५० देखी ६० हजारको बचत लाई अहिलेको खेतीपातीले जित्न नसके पनी अवको १–२ वर्षमा मजाले विदेशको कमाई भन्दा धेरै कमाई हुनेमा ढुक्क छन् ।
उसो त नेपालको खेतीपातीमा रोगकिरा, प्राकृतिक विपद, बजार, विचौलिया, सरकारका नीति नियम, किसान लाई हेर्ने सर्वसाधारणका दृष्टिकोण जस्ता धेरै चुनौतीहरु छन् यद्यपी यि र यस्ता चुनौती लाई सामना गर्दै नया प्रविधिहरुको समूचित प्रयोग गर्दै मूल्य श्रृखंला अभिबृद्धिको अवधारणा लाई अंगाल्ने हो भने नेपालमै स्वरोजगार त्यो पनि खेतीपाती बाट गर्न असम्भव चाही छैन ।