डडेल्धुरा-डडेल्धुराका स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) अन्तर्गत गुणस्तर परीक्षणपूर्वको नतिजा सार्वजनिक गरिएको छ ।
जिल्ला समन्वय समितिको कार्यालय, डडेल्धुराले स्थानीय तहको कार्यप्रकृया, उपलब्धि तथा दुर्बल पक्षहरूको पहिचान गर्ने उद्देश्यले स्वमूल्याङ्कन प्रक्रिया सम्पन्न गरेको हो । यो स्वमूल्याङ्कनले स्थानीय तहहरूलाई विकास, सुशासन सुधार र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गर्न महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० बमोजिम तयार गरिएको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार डडेल्धुरा जिल्लाका सातवटा स्थानीय तहको प्रारम्भिक नतिजा सार्वजनिक गरिएको छ । जसमा ९८ अंक ल्याएर अजयमेरु गाउँपालिका पहिलो स्थानमा छ भने ७५ अंकका साथ सदरमुकामस्थित अमरगढी नगरपालिका अन्तिम स्थानमा छ । भागेश्वरले ९२, आलितालले ९१.७५, नवदुर्गाले ७९, गन्यापधुराले ७८ र परशुरामले ७७.५ अंक प्राप्त गरेको जिल्ला समन्वय समितिको कार्यालय डडेल्धुराले जनाएको छ ।
जिल्ला समन्वय अधिकारी करुणाकर पन्तका अनुसार, यस स्वमूल्याङ्कन प्रक्रियाले स्थानीय तहहरूको सशक्तीकरणमा योगदान पु¥याउने विश्वास लिइएको छ । उनले स्थानीय तहलाई प्रतिस्पर्धात्मक सुधारको अवसर दिन खोजिएको बताए । स्वमुल्यांकनको नतिजा सार्वजनिक भएसँगै स्थानीय तहहरूलाई नीतिगत व्यवस्था, सुशासन सुधार, वित्तीय व्यवस्था र सार्वजनिक सेवाप्रवाहमा प्रभावकारिता तथा समग्र संस्थागत क्षमताको वृद्धि गर्ने अवसर प्राप्त भएको उनले जिकिर गरे ।